काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै पुराना र नयाँ सहर श्रमिकको मेहनतबाट बनेको बताएका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदुरकै प्रयासका कारण सबै सहर अहिलेको अवस्थामा आएको उल्लेख गरे।
विगतदेखि नै मालिकलाई श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच पाइएको उनको भनाइ छ। उनले भने, ‘मजदुरलाई ज्याला दिँदा ऊ र उसको परिवार बाँच्न सकोस् भन्ने मात्रै थियो र तीनका सन्तानलाई पनि मजदुर नै बनाउने सोच पाइन्थ्यो।’ मजदुरको लामो संघर्षबाट आन्दोलनको स्मरण गर्न मे दिवसका रूपमा मनाउन थालिएको पूर्वप्रधानमन्त्री ओलीले बताए।
विभेद र अत्याचार भएपछि मजदुर एकताबद्ध भएर आन्दोलन सुरु गरेको अध्यक्ष ओलीको भनाई छ। ‘त्यतिबेला श्रमिकको ज्यानको सुरक्षा पनि मालिकको हातमा हुने सोचाइ रहेको पाइन्थ्यो,’ उनले भने, ‘वर्गीय समाज बनेदेखि नै मजदुरलाई विभेद हुँदै आयो।’
फरक प्रसंगमा अध्यक्ष ओलीले अहिले काठमाडौं महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदका उम्मेदवार सक्षम र सबल रहेको उनले दाबी गरे। एक जना अनुभवी र अर्का युवा जोश भएकाले त्यो दुई कुराको संयोजन सकारात्मक रहेको उनले जिकिर गरे। हाल प्रमुखका उम्मेदवारले यसअघि प्रमुख हुँदा सकारात्मक काम सुरु गरेको र उपप्रमुख डंगोल युवा, महिला, नयाँ पुस्ताका र काठमाडौंका स्थानीयको प्रतिनिधिका रूपमा रहेको उनको तर्क थियो।
अहिले सबैतिर एमालेका पक्षमा लहर रहेकोसमेत उनले दाबी गरे। सामाजिक न्याय र समानताको नेतृत्वको अगुवाइ एमालेले गर्ने अध्यक्ष ओलीले बताए। ‘शारीरिक अशक्तलाई सबल र सक्षम बनाउन र उनीहरूलाई सम्मानजनक बाँच्न पाउने व्यवस्था मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको हो,’ उनले दोहोर्याए।
उद्योग, श्रम, कृषि, व्यापार, बजार, सुरक्षा, सम्पदा, प्राकृतिक, नदीनालालगायतका क्षेत्रमा सुधारको नेतृत्व एमालेले गरेको बताए। उनले भने, ‘हाम्रो पहलमा बागमती, विष्णुमती जस्ता धार्मिक नदी सफा गर्न अनेकन् काम सुरु गरिएको थियो, अहिले त्यसमा केही सुधार आएको छ।’ -रासस



लोकपाटी न्यूज

