केपी ओलीको मुखमा अँगार छ, उनले ओकल्ने कालै हो : गगन थापा

Gagan_Thapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले घोषणा पत्रमार्फत पर्दाफास गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली सन्केर पागल भनेको बताएका छन्। स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषयक कार्यक्रममा उनले घोषणा पत्रमा सत्य तथ्य कुरा लेखेको बताए। ‘उहाँ (केपी ओल)को झुटलाई ठीक हो भन्ने कुरा भएन। बुढा बा धेरै सनक्क सन्किँदा शरीरलाई कहिलेकाहीँ अप्ठ्यारो पर्न सक्छ,’ उनले भने, ‘मैले केपी ओलीले मुख छाड्ने कुरा नयाँ भएन भने। जसको मुखमा अंगार छ, उसले ओकल्ने कालै हो।’

उनले फुर्सद भएको बेला बलाकोटमै पुगेर ओलीको ट्युसन लिने बताए। ‘उहाँले मलाई चोर्‍यो चोर्‍यो भन्नुहुन्छ। हिजो पनि चोर्‍यो भन्नुभयो। अहिले चुनावको बेला छ। उहाँलाई पनि फुर्सद छैन, मलाई पनि फुर्सद छैन। उहाँ अध्यक्ष, म महामन्त्री। अलिकति भ्याएको बेला बालकोटै गएर ट्युसन पढाउँछु,’ उनले भने, ‘ट्युसन पढाउनै पर्ने भाछ। मेरो समृद्धको कुरा चोर्देला चोर्देला भनेर नबस्नुस्। तपाईँको आइडिया तपाइसँगै राख्नुस्। न मलाई चोर्नुछ, न काँग्रेसको साथीलाई चोर्नुछ। समृद्धि तपाईँकै आइडिया हो।’

थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गरे। निर्वाचनमा होमिएका बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे। उनले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमी कमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको बेला पार्टीको निर्णय विपरीत उम्मेदवारी दिन नमिल्ने बताए।

‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा पार्टीभित्र फरक मत मात्रै होइन ठूलो भिन्न मत पनि छ। यसका बारेमा संघर्ष पनि भयो। त्यो संघर्ष छ र भोलिको दिनमा पनि रहन्छ। तर राजनीतिक दल भनेकै आफ्नो मतलाई दलको मत बनाउन कोसिस गर्ने हो। दलको मत बन्न सकेन भने पनि आफ्नो मतलाई दलको मत बनाउन कोसिस गरिरहन्छु भनेर दलले गरेको निर्णयलाई स्वीकार गर्ने हो। हामी पार्टीलाई जिताउन चाहन्छौं, पार्टीको निर्णयलाई कार्यान्वयन गराउन चाहन्छौं। तर यसपछि फेरि छलफल हुन्छ। फेरि बहस हुन्छ। यो विषय ओझेलमा राखिन्न। एउटा, एउटा विषयमा छलफल हुन्छ। तालमेलको विषयमा छलफल हुन्छ। सैद्धान्तिक विषयमा छलफल हुन्छ,’ थापाले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्