काठमाडौं। नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसर पारेर ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा एमालेले शिक्षा र स्वास्थ्यलाई प्राथमिकताका साथ स्थान दिएको छ। एमालेले पालिकाहरूलाई पूर्ण साक्षर घोषणा गर्नेदेखि आधारभूत स्वास्थ्य सेवा र जटिल रोगको उपचार निःशुल्क गर्नेसम्मका योजना घोषणापत्रमा उल्लेख गरेको छ। एमालेले घोषणापत्रमा यसअघिका योजनालाई पनि निरन्तरता दिइएको छ।
एमालेले ठूला शहरमा रेल र ठूला नदीमा जल यातायात सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ। घोषणापत्रमा भनिएको छ, ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने। ठूला शहरहरूमा रेल, बस र्यापिड ट्रान्जिट लगायत यातायात प्रणालीको विकास गर्ने। ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने।’
सहज आवागमन, अर्थतन्त्रलाई गतिशीलता र सेवा एवं आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधार विकास गर्ने एमालेको योजना छ। जसमा सडक, हवाई, जल, केबलकार र रोपवे, दूरसञ्चार लगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरूको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने उल्लेख गरिएको छ।
एमालेले ६ संकल्पहरू समेत प्रस्तुत गरेको छ। आफ्नो नेतृत्वमा सरकार बनेको खण्डमा आफूहरूले अपनाउने नीति तथा व्यवहारलाई घोषणापत्रमा समेटिएको छ। ६ बुँदे उक्त संकल्पमा एमालेले आफ्ना जनप्रतिनिधिहरू शासक नभएर जनताका सेवक हुने उल्लेख गरेको छ। यस्तै एमालेका जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुने बताइएको छ।
यस्ता छन् एमालेका ६ संकल्प :
- हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन्।
- हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुने छन्।
- हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्ने छन्।
- हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्ने छन्।
- हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन्।
- हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्ने छन्।



लोकपाटी न्यूज

