गौरवको कुरा हो, हामी समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा छौं : प्रचण्ड

Prachand
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णरुपमा अन्त्य नभएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरुद्ध संघर्ष गर्दै प्राप्त उपलब्धिहरूको रक्षासहित समाजवादको आधार तयार पार्नु सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुने पनि बताएका छन्।

शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिष्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार गरेको वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको कारण तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुगेको प्रचण्डले स्मरण गरेका छन्। ‘तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन,’ प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ।

नेपालका कम्युनिष्ट पार्टीले ७३ वर्षको अन्तरालमा देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा पुगेको उल्लेख गर्दै प्रचण्डले यो सबै नेपालीहरूका लागि गौरवको कुरा भएको प्रचण्डले बताएका छन्। प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम-लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको पनि प्रचण्डले बताएका छन्। यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको जानकारी उनले गराएका छन्।

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम-लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ। यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ। तसर्थ, आगामी निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता-कार्यकर्ता र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा विशेष अपिल गर्दछु।’

ppp

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्