संसद विघटन गलत थियो नभन्नू : केपी ओली

KP sharma Oli-22
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा काँग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन्। एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकमा अध्यक्ष ओलीले काँग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन्।

‘काँग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भने, ‘काँग्रेस अलच्छिन जति बोकेर हिँडेको छ। कोही हाप्सिलोजस्ता छन्। कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ। हाप्सिलै हाप्सिलो काँधमा बोकेर काँग्रेस हिँडेको छ। योभन्दा अलच्छिन के हुन्छ ?’ गठबन्धनसँगै काँग्रेस पनि सकिने ओलीको दाबी छ।

उनले स्थानीय तहमा एमालेको संगठन मजबुत भएको बताए। उनले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन्। ओलीले भने, ‘२०७४ मा भएको निर्वाचनमा पनि हामी सरकारमा थिएनौं। तर, परिणाम राम्रो ल्याएका थियौं। अहिले हाम्रो अवस्था राम्रो छ।’

उनले तराई-मधेशमा एमालेको पक्षमा लहर आएको दाबी गरे। पहिलेभन्दा अहिले मधेशमा एमालेको स्थिति राम्रो भएको उनले दाबी गरे। ‘मधेशमा अहिले एमालेको लहर आएको छ,’ ओलीले भने, ‘पहिलेकोभन्दा स्थिति अहिले धेरै राम्रो छ। एउटा प्रदेशमा नै एमालेलाई निषेध थियो। आज त्यो प्रदेशभर एमाले मजबुत छ।’

अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भुलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई निर्देशन दिए। प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको दाबी गर्दै उनले त्यसको विरोध नगर्न भनेका हुन्।

‘यदाकदा प्रतिनिधिसभा विघटन त गलत नै थियो भनेर सल्लाहकार परिषद्का कमरेडहरूले बोल्नुभएको पाएको छु, अब आइन्दा प्रतिनिधिसभा विघटन गलत थियो भनेर भुलचुकले नबोल्नु होला,’ ओलीले भने, ‘प्रतिनिधिसभा विघटन सही थियो र नै आज हामी यहाँ छौं।’ एमालेले ठीक समयमा ठीक निर्णय गर्दै अगाडि बढिरहेको उनको दाबी थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्