रामपुर। आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा यतिबेला पालिकाको प्रमुख र उपप्रमुखको बहस र चर्चा निकै हुने गरेको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पाका सबै पालिकामा चुनावी माहौल बढेको छ। यसभन्दा अघिको निर्वाचनमा पालिका उपप्रमुख पदमा मात्रै सीमित रहेका यहाँका महिला अब प्रमुखको जिम्मेवारी सम्हाल्ने होडबाजीमा छन्। आरक्षण कोटामा मात्रै सीमित रहेका महिला अब पुरुष सरह नै प्रमुख भएर पालिका हाँक्ने हिम्मतका साथ प्रमुखको दाबेदारमा आ-आफ्नै पार्टीभित्र टिकटको लागि रस्साकस्सीमा छन्।
रामपुर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसको तर्फबाट यहाँ दुई महिला दाबेदार छन्। वर्तमान नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र रामपुर नगरपालिका वडा नं ७ का वडा सचिव गीता पौडेलले यस पटकको निर्वाचनमा प्रमुख पदको जिम्मेवारी दिनुपर्ने भन्दै दाबी गरेकी छन्। नगरपालिकामा पाँच वर्ष उपप्रमुख भएर काम गर्दै गर्दा प्रमुखको पद पाएमा जिम्मेवारी निभाउन सकिने र पार्टीले टिकट दिएमा एक कार्यकाल अब नगर प्रमुख भएर काम गर्ने इच्छा रहेको नगर उपप्रमुख आचार्य बताउँछिन्।
रामपुर नगरीमा महिलाको नेतृत्वमा समग्र विकासलाई पूर्णता दिनु जरुरी रहेको बताउँछन्, अर्का प्रमुख पदका दाबेदार पौडेल। एक दश बढी रामपुर नगरपालिकामा कर्मचारी भएर काम गर्दा प्रशासनिक काममा धेरै अनुभव बटुल्नुभएकी पौडेल अब जनताको प्रतिनिधि भएर नगर प्रमुख हाँक्ने इच्छा रहेको बताइन्।
‘मेरो नगर प्रमुख पदमा परेको उम्मेदवारीले समग्र रामपुरवासीका महिला उत्साहित हुनुहुन्छ, सबैको साथ सहयोग सकारात्मक छ, ऐन नियम र कानुनको व्यवस्था गरी नगरपालिकाको पञ्चवर्षीय गुरुयोजना तयारी गरी दीर्घकालीन विकास निर्माणलाई प्राथमिकता दिनेछु, नगरपालिकामा अनुशासन तथा सुशासनको व्यवस्थापन गर्नेछु,’ उनले भनिन्।
शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा रामपुरको धेरै लगानी बाहिरिएको छ। देशको आवश्यकताबमोजिम हरेक विषयको उच्च शिक्षा अध्ययन गराउन सक्ने शैक्षिक व्यवस्थापन, क्यान्सरजस्ता घातक रोगलाई निराकरण गर्न सक्ने स्वास्थ्य संस्था तथा अस्पतालको व्यवस्थापन लगायतका कुरामा जोड दिएर काम गर्नसक्ने हिम्मत रहेको पौडेलको भनाइ छ। रामपुर नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट दुई महिला, छ पुरुष सहित आठ जना नगर प्रमुखको रूपमा दाबेदार छन्। नेकपा एमालेबाट भने यहाँ नगर प्रमुखमा महिला आकांक्षी छैनन्।
तानसेन नगरपालिकामा नेकपा (एमाले ) को तर्फबाट दश पुरुषसँग उपप्रमुख लक्ष्मी पाठक प्रमुख पदको दाबेदार छन्। उनको प्रमुख पदमा परेको उम्मेदवारीले महिलामा ऊर्जा मिलेको छ। ‘पाँच वर्षको उपप्रमुख भएर काम गर्दा धेरै कुरा सिकियो, अवसर पाएमा म नगर प्रमुखले गर्ने सबै काम गर्न सक्षम छु, तर पार्टीले टिकट दिने हो कि होइन,’ उनले भनिन्।
बगनासकाली गाउँपालिकामा भने उपाध्यक्ष सरस्वती चिदीलाई नेकपा एमालेले सर्वसहमतरुपमा पालिका अध्यक्ष सिफारिस गरेको छ। क्षमतावान् भए पनि महिला भएकै कारण नेतृत्व तहबाट पछाडि परिरहेका महिलालाई पालिकाको अध्यक्षमा गरिएको सिफारिसले अन्यत्र पालिकाका उपाध्यक्ष, उपप्रमुखहरूले महिला अध्यक्ष तथा प्रमुख पदकको दाबी गर्न थालेका छन्।
‘मसँग अध्यक्ष पदमा दाबेदार कोही हुनुभएन, सर्वसम्मत रूपमा मलाई पार्टीले सिफारिस गर्यो, यहाँको केही वडामा नेकपा एमालेले महिलालाई नै वडाध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको छ, अवसर दिनुपर्यो महिलाले आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन सक्छन्,’ उनले भनिन्।
उपाध्यक्ष चिदीले पाँच वर्षको अवधिमा पालिकाका सबै वडामा समन्वय समिति, पालिकास्तरीय महिला सञ्जाल, महिला सशक्तीकरणका लागि विभिन्न तालिम सञ्चालन गरेर महिलाको आयस्तर वृद्धि गर्ने खालका कार्यक्रम गरेको बताइन्। यहाँको पालिकाका एमालेले अध्यक्षमा चिदी र उपाध्यक्षमा हरिप्रसाद पाठकलाई उम्मेदवारको रूपमा सिफारिस गरेको छ।
पालिकाको अध्यक्ष भएर काम गर्ने मन छ तर पार्टीले नेतृत्वमा अवसर नदिने भएकाले जानेर आफूले अध्यक्षमा यस पटकको निर्वाचनमा उम्मेदवारी नदिएको बताउँछन्। माथागढी गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराई। महिलाले अवसर पाएमा स्थानीय सरकार मात्रै होइन देशै चलाउन सक्ने सक्षमता छ तर पार्टीभित्रबाटै पछाडि हट्नुपरेको उपाध्यक्ष भट्टराईको भनाइ छ।
उनी भन्छन्, ‘जहाँ महिलाको नेतृत्व छ त्यहाँ स्वच्छ रूपमा विकासका कामहरू भएका छन्, भ्रष्टाचार छैन, महिला नेतृत्वमा कमजोर छैनन्, यदि पार्टीले अध्यक्षको नेतृत्वको लागि टिकट दिन्छ भने पालिका चलाउन सक्ने महिलासँग हिम्मत र आँट छ तर महिला भएकै कारण भरसक क्षमता भएर पनि नेतृत्वबाट पछाडि परिरहेका छन्।’
पाँच वर्ष पालिकाको उपाध्यक्ष भएर काम गरेका महिलाले अब पालिकाका प्रमुख भएर काम गर्नसक्ने क्षमताको विकास उनीहरूमा भएको छ। अहिले पालिकामा पाँच वर्षको अवधिमा विभिन्न संरचना तयार, नियम कानुन, सिस्टम बसेकाले पनि अब आउने नेतृत्वलाई काममा कठिनाइ हुँदैन।
यस्तै रम्भा गाउँपालिकाका उपाध्यक्ष राधादेवी श्रेष्ठले पुनः उपाध्यक्ष पदमा नै दाबी गरेकी छन्। पालिका प्रमुख भएर चलाउन सक्ने आफूमा क्षमता भए पनि पुनः एक पटक पालिका उपाध्यक्षमै रहेर काम गर्ने नेकपा एमालेको तर्फबाट दाबेदार छन्। महिला पुरुषसरह नै नेतृत्वमा पुग्न सके पनि व्यावहारिकरुपमा हेर्ने हो भने अवसरमा झट्ट स्थान दिइँदैन। अझै पनि समाजमा पितृ सतात्मक सोच कायमै छ। प्रमुख पदमा पुरुष नै हुनुपर्छ भन्ने छ। भरसक महिलालाई आरक्षण कोटाभित्रै मात्रै खुम्चाएर राखिएको छ।
रम्भा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट तीन जना पुरुषसँग अध्यक्ष पदमा एक महिला दाबेदार छन्। पालिकाको महिला सञ्जाल अध्यक्ष भएर नेतृत्व गरेकी कुबिजा अर्याल पार्टीले अवसर दिएमा गाउँपालिकाको अध्यक्ष भएर काम गर्ने सक्षमता आफूमा रहेको बताउँछिन्। महिला सक्षम हुँदाहुँदै अवसरबाट वञ्चित गरिनु नहुने उनको तर्क छ। महिला पुरुषसरह नै प्रमुख पदमा दाबेदारका साथ अगाडी आउनु नै ठूलो कुरा हो। अर्याल तीन पुरुषसँगको सामूहिक लडाइँमा एक्लो महिला अध्यक्षको दाबेदार हुन्। आफूले अध्यक्ष पदमा पार्टीमा उम्मेदवारी दिँदै गर्दा यहाँका समग्र महिलालाई आँटिलो बनाएको र अब महिला राज्यले छुट्याएको आरक्षण कोटामा मात्रै सीमित होइन, पुरुषसरह नै प्रमुख पदमा नेतृत्व हाँक्न सक्ने भइसकेको अर्यालले बताइन्।
पालिकाको अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख पदमध्ये एक पदमा महिला अनिवार्य भनिए पनि प्रमुख, अध्यक्षजस्ता पदमा पुरुष नै छन्। एक दुई ठाउँमा महिला प्रमुख, अध्यक्ष भएर पालिका चलाएको पाइन्छ। वडा तहमा पनि एक दलितसहित दुई जना महिला अनिवार्य भनिएकाले दुई पदमा मात्रै महिलाले अवसर पाएका छन्।
पार्टीले सक्षमताका आधारमा अवसर दिने हो भने पालिकामा सातै सिटमा महिलाले नेतृत्व गर्न सक्नेछन्। गत २०७४ मा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा प्रमुख पदमा महिला आकांक्षी बढेका छन्। नेतृत्वमा नल्याउन आर्थिकलगायतका विभिन्न समस्या देखाएर बाधक पनि बनिरहेको महिला बताउँछन्। -रासस



लोकपाटी न्यूज

