असफल पार्टीहरूलाई यसपालि बिदाइ गर्नुपर्छ : लिङदेन

लोकपाटी न्यूज

भरतपुर। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ३२ वर्ष मौका पाउने नेता तथा दलहरूले जनताले अनुभूति गर्ने गरी देशको विकास हुन नसकेको बताएका छन्। भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले साँढेको टाङमुनि बाल्टी थापेर दूध नआउने प्रसङ्ग सुनाउँदै ठुला भनिने दलहरूलाई भोट दिएर देश बन्छ भनेर सोच्नु गलत हुने बताए।

उनले अब विकल्प सोच्ने बेला आएको बताए। ‘चुनावलाई ख्याल ख्याल नठानौँ,’ उनले भने, ‘भोट दिनुभन्दा अगाडी हजार पटक सोच्नुस्, बाजे-बाउको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ। गएका चुनावहरूमा ठिक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दुःख पाएको बताए।

जनतालाई गाई गोठको वस्तु ठान्ने नेताहरूले जनताका समस्या हल गर्नै नसक्ने बताए। ३२ वर्षदेखि शासन गरेका दलहरू प्रति देखेर दया लागेको बताए। ‘उनले बन्न नसकेका पालिकाहरूको नेतृत्व गर्न एक चोटि राप्रपालाई दिनुपर्ने बताए।’ देश कस्तो बनाउने तीनै पालिकाको विकास गरेर देखाउँछौँ,’ उनले भने, ‘नमुना पालिका बनाउनेछौँ।’ उनले असफल पार्टीहरूलाई यसपालि बिदाइ गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्