डोटीको शिखर नगरपालिकाका विद्यार्थी खुल्ला चौरमा धुलोसँगै परीक्षा दिँदै

लोकपाटी न्यूज

काठमाडौं। डोटी जिल्ला शिखर नगरपालिका वडामा ११ मल्लीसातमा रहेको भगवती आधारभूत विद्यालयमा विद्यार्थी खुल्ला चौरमा धुलोसँगै परीक्षा दिन बाध्य भएका छन्। विद्यालयमा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थी खुल्ला चौरमा भुईँमै बसेर परीक्षा दिइरहेका हुन।

विद्यालयमा कक्षा ४ देखि कक्षा ८ सम्मका ५० प्रतिशत विद्यार्थी पनि पर्याप्त डेस्क नहुँदा खुट्टामा नै पेपर राखी परीक्षा दिन बाध्य रहेको विद्यालयका शिक्षक गणेश रावलले जनाए। उक्त विद्यालयमा मल्लीसात, किमाडा र ओली गाउँका विद्यार्थी अध्ययनरत रहेका छन्। अहिले विद्यालयमा वार्षिक परीक्षा चली रहेको छ। नेताहरू चुनाव लक्षित कार्यक्रम गर्दा विद्यालयको स्तर उन्नतिका लागि सकारात्मक कदम चाल्ने मिठो आश्वासन दिँदै गरे पनि चुनावपछि विद्यालयको शिक्षा, गुणस्तरियता सम्बन्धी ध्यान नै दिँदैनन्।

शिखर नगरपालिकाको वडा नं ११ मा माध्यामिक तहको विद्यालय नभएकाले सोही विद्यालयलाई मा.वि बनाउने भनि बेलाबेला निरक्षणको क्रममा शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले आश्वासन दिँदै आइरहेको छन्। तर जोशीको ५ वर्ष कार्यकाल बित्नै लाग्दा समेत नगरपालिकाले विद्यालयका लागि आश्वासन बाहेक सिन्को समेत नभाँच्दा स्थानीय खिन्न समशुस गरी रहेका छन्।

८ कक्षा पास भइसकेपछि विद्यार्थी सिताराम उच्च माध्यमिक विद्यालय उच्चाकोट तथा भगवती माध्यमिक विद्यालय तलारामा जानु पर्ने कठिन अवस्था रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण सिंह विष्टले जानकारी दिए।साझ बिहानको एक छाकको लागि भौँतारिरहेका स्थानीयले महँगो शुल्कमा भाडामा र होस्टेलमा बाहिरी विद्यालयमा आफ्ना छोरा छोरीहरूलाई अध्ययन गराउन नसक्दा छोरीको विवाह र छोरालाई छिमेकी राष्ट्र भारतमा रोजगारीमा पठाउनु पर्ने बाध्यता रहेको छ। अहिले उक्त गाउँका ५० प्रतिशत भन्दा बढी युवा गाउँमा रहेको विद्यालयमा ८ पास गरी भारत जाने गरेका छन्।

युवालाई स्वदेश मै सिर्जनात्मक तालिम सिकाई स्थानीय क्षेत्र मै उद्यमि बनाउनु त परै को कुरा नगरपालिकाले विद्यालयको स्तर उन्नतिमा एक नजर आँखा समेत जाँदैन। भगवती आधारभूत विद्यालयमा विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले निजी श्रोतका शिक्षकलाई तलब प्रदान गर्न तथा विद्यालयको भौतिक विकासका लागि होली खेलेर रकम सङ्कलन गर्दे आइरहेको स्थानीय गणेश रावल जानकारी दिए।

भगवती आधारभूत विद्यालयमा नर्सरी देखी आठ कक्षा सम्म पठनपाठन हुँदै आएको छ। वि.सं. २०३७ सालमा स्थापना भएको सो विद्यालयमा अहिले ९ जना शिक्षक र करिब ३ सय जना विद्यार्थीहरू रहेका छन्। विद्यालयमा ३ जना स्थायी शिक्षक, २ जना राहत शिक्षक, १ जना बाल विकास सहजकर्ता र ३ जना निजी शिक्षक कार्यरत छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्