एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली देशमाथि आरोप लगाउँदै रुसबाट तेल खरिद गरिरहेका देशले अरुको रगतबाट लत्पत्तिएको कमाई गरिरहेको बताए। बीबीसीलाई दिएको अन्तरवार्तामा जेलेन्स्कीले जर्मनी र हंगरीमाथि लक्षित गर्दै रुसबाट तेल खरिदमा लगाइएको प्रतिबन्धको कार्यान्वयनमा बाधा पुर्याइरहेको बताए। यो निर्यातबाट रुसले यस वर्ष ३२६ अर्ब डलरसम्मको फाइदा लिनसक्ने उनले बताए।
हालैका दिनमा जर्मनीको विषयमा युक्रेनी नेतामा रोष बढेको छ। जर्मनीले रुसविरुद्ध केही प्रतिबन्धलाई समर्थन गरेको छ तर तेल खरिदमा कडा कदम चाल्न पूर्ण रुपमा समर्थन गरेको छैन। ‘हाम्रा केही सहकर्मी र साथीहरुले बुझेका छन् कि समय अब उस्तै छैन, यो अब व्यापार वा पैसाको कुरा होइन। यो अब बाँच्नका लागि संघर्ष हो,’ जेलेन्स्कीले बिहिबार युक्रेनको राजधानी किभस्थित कक्षमा भने।
राष्ट्रपति जेलेन्स्कीले पुनः एकपटक अन्तर्राष्ट्रिय देशलाई युक्रेनलाई थप हतियार उपलब्ध गराउन अपिल गर्दै रुसी आक्रमणको जवाफ दिन चाँडै थप हतियारको आवश्यकता भएको बताए। उनले थपे, ‘अमेरिका, बेलायत र केही युरोपेली देश हाम्रो मद्दत गर्ने कोसिस गरिरहेको छ र उनीहरुले मद्दत पनि गरिरहेका छन्। तर हामीलाई छिटोभन्दा छिटो थप मद्दत चाहिएको छ
राष्ट्रपति जेलेन्स्कीले युक्रेनी सेनाका लागि पूर्वमा स्थिति ‘धेरै गाह्रो’ भएको बताए। तर यो त्यो क्षेत्र हो जहाँ उनीहरुको सबैभन्दा शक्तिशाली सेना रहेको छ। उनले भने, ‘उनीहरुले हामीलाई नष्ट गर्न सक्छन् तर हामी यसको जवाफ दिनेछौँ, उनीहरुले हामीलाई मार्न सक्छन् तर तिनीहरु आफैँ पनि मारिने छन्। तिनीहरु यहाँ किन र के गर्न आएका हुन्, मलाई थाहा छैन। ’



लोकपाटी न्यूज

