पालुङ्टारको नगरप्रमुखमा उपमेयर बसेलको दावी

pampha-basel
लोकपाटी न्यूज

काठमाडौं। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै गोरखाको पालुङ्टार नगरपालिका प्रमुखका दाबेदारका विषयमा चर्चा परिचर्चा बढ्न थालेको छ। सबै पार्टीका दाबेदार लिस्ट हेर्ने हो भने नेतृत्व पङ्तिलाई उपयुक्त उमेद्वार छान्न हम्मे-हम्मे देखिन्छ। मेयरमा आकांक्षी नेताहरूले दाबेदार दिएका छन्। चार दलिय गठबन्धन बन्ने भएपछि पालुङ्गटार नगरपालिका कसको भागमा पर्छ भन्ने टुङ्गो नलागे पनि आकांक्षीहरुले भने आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्। गठबन्धन भयो भने पालुङ्टार नगरपालिका मेयरमा माओवादी केन्द्रले पाउने चर्चासँगै आकांक्षीहरुले दाबी प्रस्तुत गर्न थालेका छन्।

२०७४ सालको स्थानीय निर्वाचनमा पालुङ्टारमा नेपाली काँग्रेसका उम्मेदवार दिपक बाबु कँडेल विजयी भएका थिए भने उप-मेयरमा पम्फा बसेल माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन्। अहिले गोरखा नगरपालिका काँग्रेसलाई छाडेर पालुङ्टार नगरपालिका माओवादी केन्द्रको हातमा पार्न माओवादीका जिल्ला नेताहरू लागिपरेका छन्।गठबन्धन बने जित निश्चित हुने भए सँगै पालुङ्गटारमा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवार दाबी गर्नेको सात जना नेता छन्। पम्फा बसेल, इन्द्रराज भट्टराई, मदन देवकोटा, खोप बहादुर कँडेल, विवश चिन्तन, विकास वाग्ले र जीवन वलकोटी।

उपमेयरको जिम्मेवारी समाल्दै गरेकी पम्फा बसेलको यो पटकको मेयरको टिकट पाउने सम्भावना तीव्र रहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हरेक जिल्लामा कम्तीमा एउटा पालिकाको मेयरमा महिला अनिवार्य बनाउने योजना घोषणा गरेसँगै बसेलको सम्भावना बढेको हो। सानै उमेरदेखि राजनीति गर्दै आएकी बसलेले जित्ने सम्भावना तीव्र छ। उप-मेयरमा जित हात पारिसकेकी बसलेले मेयरमा जित्ने निश्चित नै छ। उपमेयर हुँदा उनले गरेको कार्य मूल्याङ्कन गर्दै यस पटक पार्टीले पनि टिकट दिने कुरामा कुनै दुई मत छैन। दलित समुदायबाट आएकी, महिला र ऊर्जाशील युवतीले मेयरमा जित्नु नै सम्पूर्ण पालुङ्टार बासीको जित हुने स्थानीय बताउँछन्।

गठबन्धनले गर्दा बसेललाई थप सहज त पक्कै हुन्छ नै तर बसेल आफ्नै क्षमतामा चुनाव जित्न सक्ने हिम्मत राखेर अघि बढेकी छन्। माओवादी केन्द्रका अग्रज नेताहरूले पनि बसेललाई मेयरको रूपमा देख्ने चाहना रहेको बताएका छन्। उपमेयरको जिम्मेवारी पूरा गरेको देखेर पालुङ्टारका जनता पनि पम्फा बसेल मेयरको जिम्मेवारी पूरा गर्न सक्ने साहसी महिला भएको बताउँछन्। सम्पूर्णमा हेर्दा यति बेला पम्फा बसेल नै पालुङ्टारको मेयरको योग्य व्यक्ति हुन्। पार्टीलाई ठूलो योगदान दिएकी उनीले समाजमा पनि उत्तिकै योगदान दिएकी छन्। त्यसैले यो पटकको मेयर पम्फा नै हो भन्दा फरक नपर्ने नगरबासी बताउँछन्।

को हुन् मेयरमा दाबी गर्ने पम्फा बसेल ?

अरू निर्णय लिन नसक्ने र बाल खेलमा रमाइलो गर्ने उमेरमा बसेल राजनीतिमा होमिएकी थिइन्। २०५८ सालमा उनी १३ वर्षको कलिलो उमेरमा विद्यार्थी कमिटीमा सह-सचिवबाट राजनैतिक जीवनमा प्रवेश गरेकी थिइन्।समाजलाई परिवर्तन गर्नुपर्छ, सामन्ती विरुद्ध विरोधमा उत्रिनु पर्छ भन्ने बाल मस्तिष्कमा परेपछि उनी राजनीतिमा होमिएकी थिइन्। त्यति बेला दलित समुदायलाई गरिने दुर्व्यवहारले गर्दा माओवादी पार्टी नै देश र समाजलाई परिवर्तन गर्न सक्छ भनेर २०५८ सालमै उनीले पार्टी सदस्यता लिइन्।

विद्यार्थी राजनीति गर्दै गर्दा उनी विद्यार्थी जिल्ला सदस्य भइन्। त्यसपछि उनी विद्यार्थी कमिटीमा गरेको हरेक कार्यलाई मूल्याङ्कन गर्दै उनी जनमुक्ति सेनामा सिफारिस भइन्। पार्टीप्रति बफादार भएपछि उनी जनमुक्ति सेनामा पनि बफादार हुने देखिएर अग्रज नेताहरूले बसेललाई सानै उमेरमा जनमुक्ति सेनामा लगे। सानै उमेरमा नै उनी भूमिगत भइन्। एउटा महिला मान्छे त्यही माथि सानी भए पनि विचार र गन्तव्य ठूलो थियो। पैतालाको साइज सानो भए पनि हिम्मत र देश प्रेमको भावना विशाल थियो। त्यसैले गर्दा उनी सानै उमेरमा जनयुद्धमा होमिएकी थिइन्।

समाजमा अनेक थरी कुराहरू चल्न थाले बसेलको बारेमा कतिले मजाक पनि उडाए। तर क्रान्तिमा हिँडेको मान्छे उनी विचलित भइनन्। आफ्नो गन्तव्य पहिल्यै देखिसकेकी उनले समाजको निम्ति आफ्नो जीवन नै समर्पण गर्न तयार भएर उनी हिँडिन्। कहिले चोटसँग खेल्दै कहिले बन्दुक अनि कहिले गोलीको छर्रासँग खेल्दै उनी अघि बढिरहिन्। जनयुद्धमा लडेका चोटहरूको पीडा अझै पनि उनलाई हुन्छ। ती शरीरमा लागेको चोटहरूको पीडा कम गर्न उनले अहिले पनि नियमित औषधि सेवन गरिरहेकी छन्।

 उनी २०६२ सालमा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनबाट सचिव भइन्। झन् उनी दलित समुदायको आवाज एकदम बुलन्द बनाउँदै अघि बढिन्। माओवादी शान्ति प्रक्रियामा आएपछि बसेल २०६४ सालमा जिल्ला पार्टी सदस्य हुँदै सचिवालय सदस्यको जिम्मेवारी सक्रिय हुन थालिन्। लामोसम्म इलाका सेक्रेटरी र इन्चार्ज भइन्। भूमिगत हुँदा अध्ययनलाई निरन्तरता दिन नपाएकी उनले अध्ययनलाई निरन्तरता दिँदै अघि बढिन्। शैक्षिक उन्नतिले नै समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने सोचले गर्दा उनको शैक्षिक भविष्यले पनि निरन्तरता पाउन थाल्यो।

पछिल्लो समयमा बसेल निकै सक्रिय राजनीति गर्दै आएकी छन्। उनी हाल पालुङ्टार नगरपालिकाको उपमेयरको जिम्मेवारी निर्वाह गर्दै आइरहेकी छन्। २९ वर्षमा पम्फा बसेल उपमेयर बनेकी थिइन्। काँग्रेस उम्मेदवारलाई २ सय ९८ मतले हराइँदै उनी पालुङ्टार नगरपालिकाको उपमेयर पदमा विजयी बनेकी थिइन्। उनले ४ हजार ४ सय ९४ मत पाएकी थिइन्। नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्य तथा केन्द्रीय कार्यालय सदस्य, नेपाल नगरपालिका सङ्घ केन्द्रीय महिला विभाग सदस्य हुँदै उनी अहिले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय सदस्य समेत हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्