झापामा प्रसाईसँग भस्किए लिङ्देन र सिटौला

Durga prasai
लोकपाटी न्यूज

कमल राजवंशी। निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति तोकेपछि दलहरू चुनावी मैदानमा होमिएका छन्। केन्द्रीय तहका नेताहरूसमेत स्थानीय निर्वाचनमा विजय हासिल गरेर आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न कम्मर कसेर लागेका छन्।

मुलुक अहिले स्थानीय निर्वाचनमा होमिएको छ, देशभरि निर्वाचनको सरगर्मी बढेको छ। स्थानीय निर्वाचनमा आआफ्नो पल्लाभारी पार्न सबै दलहरू लागिपरेका छन्। स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवार विजयी बनाएर प्रदेश र संघको निर्वाचनमा आफ्नो क्षेत्र सुरक्षित राख्न केन्द्रीय नेताहरू नै चुनावी मैदानमा छन्।

दलहरूबिच रस्साकस्सी नै चलिसकेको छ। देशव्यापी स्थानीय निर्वाचनको गर्मी चल्दा झापा क्षेत्र नं.–३ मा फरक दृष्य देखिएको छ। विगतमा हेभीवेटका नेताहरू लड्ने यस क्षेत्र यसपालि पनि चर्चामा छ। स्थानीय तहको चुनाव केन्द्रीय चुनावको रिहर्सल भएकाले पनि झापा–३ पेचिलो बनेको छ।

२०७४ को संघीय निर्वाचन राप्रपाका उम्मेदवार राजेन्द्र लिंदेनले नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौलालाई पराजित गरी बिजयी भएका थिए। त्यतिबेला राप्रपाका उम्मेद्वार लिंदेनलाई एमालेको समेत समर्थन गरेको थियो। झापामा एमाले आफैमा शक्तिशाली भए पनि गठबन्धनक उम्मेदवारको जीत सहज बनाउन उक्त क्षेत्रमा राप्रपासँग चुनावी तालमेल गरिएको थियो।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाई झापा ३ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्। आर्थिक एवं भौतिक रूपमा सवल मानिएका दुर्गा प्रसाई झापा ३ बाट चुनाव लड्ने चर्चा चलेसँगै झापामा चुनावी सरगर्मी बढेको छ। उनी बिएण्डसी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालकसमेत हुन्।

एकातर्फ एमालेको बलियो जनाआधार र अर्कोतर्फ प्रसाईले भौतिक स्रोतको परिचालनमा विशेष सामर्थ्य राख्नुका साथै सामाजिक क्षेत्रका हरेक गतिविधिमा उनको सक्रियता लिङ्देन र सिटौलाका लागि चुनौती बनेको स्थानीयको टिप्पणी छ। संसदीय व्यवस्थामा पनि प्रसाईको प्रभाव बलशाली हुने भएकाले आगामी निर्वाचन पेचिलो हुने आंकलन गरिएको छ।

नेता प्रसाईले स्थानीय तहको निर्वाचनदेखि नै आगामी निर्वाचनमा आफ्नो पक्षमा माहौल बनाउन खोजिरहेको र त्यसले सिटौला र लिङ्देन झस्किएको स्वयं प्रसाईले दावी गर्दै आएका छन्।