आर्थिक संकट ओली सरकारको परिणाम हो : माधव नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

पर्वत। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको पालिका चुनावमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन्। पर्वतमा आज आयोजित पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको पालिका चुनावमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको पालिका चुनावले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि त्यहीअनुसार सहमति हुने बताए।

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आउँदो चुनावले त्यसको पुष्टि गर्ने उनको भनाइ छ। एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउने क्रम तीव्र रहेका कारण आउँदो चुनावले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको दाबी छ। अहिले गठबन्धनमा पछि उम्मेदवार कसरी टुंग्याउने भन्ने तरिकाका बारेमा छलफल भइरहेको उनले बताए।

‘गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधि सभाको चुनावमा पनि साझा उम्मेदवार कायम गरिन्छ,’ नेपालले भने, ‘उम्मेदवारबारे हामी छलफलमा रहेका छौँ, ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ।’

उनले नेपाली अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दलहरू बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफलबाट समाधान गरिनुपर्ने उनको सुझाव छ। तर‚ अहिलेको अवस्था सिर्जना हुनुको दोषी ओली नेतृत्वको सरकार रहेको नेपालले आरोप लगाए। नेपालले भने, ‘अर्थतन्त्रको यो हालत हुनुको कारण केपी ओली नेतृत्वकै सरकार हो। अधिनायकवादी प्रवृत्तिले लोकतन्त्र र संघीयता मात्रै होइन अर्थतन्त्रलाई पनि संकटमा पारेको हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्