काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बजेट बनाउने समय हुन लागेका बेला राष्ट्र बैंकका गभर्नरलाई हटाउनु सरकारको ठूलो त्रुटि भएको बताएका छन्। अर्थतन्त्रको अवस्थाबारे एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले अर्थमन्त्रीको कमजोरी लुकाउनकै लागि गभर्नरमाथि छानबिन सुरु गरिएको बताए।
उनले भने, ‘हामी पनि अर्थमन्त्री थियौं। कसैको खाता फुकुवा गरिदिन मन्त्रीले भन्न मिल्दैन। यदि हाम्रा संयन्त्रहरू दह्रो हुने हो भने यही विषयमा मन्त्रीलाई लगेर थुन्नुपर्ने हो।’ पाण्डेले देशको आर्थिक अवस्था जटिलतिर उन्मुख भएको बताए। बजेट र मौद्रिक नीति ल्याउने बेला देश गभर्नरविहीन बनाएको भन्दै उनले आपत्ति जनाए।
पाण्डेले भने, ‘श्रीलंकामा अर्थमन्त्री भाग्ने अवस्था आयो। नेपालमा पनि यस्तो अवस्था नआउला भन्न सकिन्न। यस्तो बेलामा गभर्नर बेगरको राष्ट्र बैंक बनाइयो। बजेट र मौद्रिक नीति ल्याउने बेला देश गभर्नरविहीन बनायो। आर्थिक संकट आउने देख्छु म। हाम्रो देश जोखिमतिर त प्रवेश गर्ने होइन।’
उनले विदेशबाट आएको पैसा नरोक्न राष्ट्र बैंकलाई पत्र लेख्ने अधिकार अर्थमन्त्रीलाई नभएको भन्दै किन त्यसरी पत्र लेखे, कारबाही हुनुपर्ने बताए। पाण्डेले पुँजीगत खर्च अब बढाउन सक्ने अवस्था नै नभएको बताए। ‘पुँजीगत खर्च अब रोक्नुपर्ने देखियो। पैसा नै नभएपछि कसरी ठेकेदारलाई भुक्तानी दिने ?,’ उनले भने।



लोकपाटी न्यूज

