काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको आर्थिक अवस्था जर्जर अवस्थामा पुगेको बताएका छन्। अर्थतन्त्रको अवस्थाबारे एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले मुलुकलाई आर्थिक संकटबाट बचाउन सार्थक हस्तक्षेप गर्नुपर्ने बताए।
केपी शर्मा ओली नेतृत्वको सरकारले स्वस्थ र सुदृढ अर्थ व्यवस्था छाडेर बिदा भएको भन्दै उनले ९ महिनाको अवधिमा मुलुकको अर्थ व्यवस्था अत्यन्त जोखिम अवस्थाबाट गुज्रिएको बताए। ‘मुलुकको अर्थ व्यवस्था जोखिम अवस्थामा छ। सार्थक हस्तक्षेप गरेनौं भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन। संकट उन्मुख अवस्थाबाट बाहिर निकाल्न काम नगर्ने तर दाबी श्रीलंकाबाट हुनबाट जोगाउने छु भन्ने छ,’ उनले भने।
सरकारले अवलम्बन गरेको नीति सच्याएन भने मुलुक थप संकटतर्फ जाने उनको भनाइ छ। पौडेलले एमालेले सरकार छोड्दा अर्थतन्त्र सबल र सुदृढ अवस्थामा छोडेको बताए। अहिलेको सरकारका गलत नीतिका कारण अर्थतन्त्र जोखिमतिर गएको उनको भनाई छ। ‘एमालेले सरकार सबै आर्थिक इन्डिकेटरहरु सन्तोषजनक थिए। कोभिड-१९ महामारी सामना गर्दै अर्थतन्त्रका परिसूचकहरू बिग्रिन दिएका थिएनौं। तुलनात्मक रूपमा मुलुकको अर्थतन्त्र सबल र सुदृढ थियो,’ उनले भने।
उनले वर्तमान सरकार आएपछि अर्थतन्त्रको अवस्था निकै नाजुक भएको बताए। ‘देउवा सरकारले सही नीति लिएर, ती नीतिहरू प्रभावकारी ढंगले कार्यान्वयन गरेको भए मुलुकको आर्थिक अवस्था यो ठाउँमा हुने थिएन। मुलुक आर्थिक दृष्टिकोणले सबल र सुदृढ हुने थियो,’ उनले भने।
पौडेलले गभर्नर अधिकारीलाई निलम्बन गरिएकोमा पनि आपत्ति जनाए। सरकारका गलत कामको साथ नदिएका कारण अधिकारीलाई हटाइएको उनको आरोप थियो। उनले निलम्बित गभर्नर अधिकारीलाई पुनः बहाल गर्न माग पनि गरे। उनलाई पुनः बहाद नगरिए देशको आर्थिक अवस्था थप संकटपूर्ण हुने उनको भनाइ थियो।
‘अब्बल भूमिकामा रहेका महाप्रसाद अधिकारीलाई हटाएर अवाञ्छित निर्णय गरेको छ सरकारले। उनलाई सरकारका गलत काममा साथ नदिएका कारण हटाइएको हो। गभर्नरमाथि गरिएको हस्तक्षेप तत्काल फिर्ता नगरिए आर्थिक अवस्था झन् संकटपूर्ण अवस्थामा पुग्ने छ। मुलुकको आर्थिक अवस्था जोगाउन हस्तक्षेप गर्नु जरुरी छ,’ पौडेलले भने।



लोकपाटी न्यूज

