सामुदायिक स्वास्थ्यमा स्वयंसेविकाको ठूलो योगदान छ : रेनु दाहाल

Renu Dahal
लोकपाटी न्यूज

चितवन। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समुदायमा आधारित भएर स्वास्थ्य सेवा र सचेतनाको क्षेत्रमा उल्लेख्य योगदान दिएकोमा स्वास्थ्य स्वयंसेविकाहरुको प्रशंसा गरेकी छन्। शनिवार भरतपुरमा आयोजित मेयरसँग महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका आमा बच्चा स्वास्थ्य अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

प्रमुख दाहालले आफू महानगरमा प्रमुखको रूपमा पदभार ग्रहण गरेको पहिलो निर्णय भरतपुर अस्पतालमा महिला तथा वृद्धहरूलाई ओपिडी टिकटमा छुट दिएर सुरु गरेको र निरन्तर रूपमा महिला बालबालिका तथा एकल महिलाहरूको पक्षमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताइन्। विगतमा महिला स्वास्थ्य स्वयंसेविकालाई न्यूनतम सेवा सुविधा प्रदान गरिरहेको र आउँदा दिनहरूमा यसलाई बढाएर लैजाने उनले बताइन्। यातायात र सञ्चार खर्च र चाडपर्व खर्च थोरै भएपनि सुरुवात गरिएको र ६० वर्ष उमेर पुगेका स्वयंसेविकालाई ५० हजार नगदसहित सम्मान गर्ने कार्यको सुरुवात गरिएको समेत बताइन्। बिमा प्रोत्साहन भत्ताका साथै अन्य सेवा सुविधाहरू कार्यविधि बनाई एकरूपता प्रदान गर्ने समेत बताइन्।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी प्रमुख दाहालले स्वास्थ्य स्वयंसेविकाहरूले खोप, आमा तथा बालबालिका स्वास्थ्य शिक्षा तथा सचेतनाका साथै सरुवा रोगसम्बन्धी सचेतना प्रवाह गरी समुदायमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उच्च मनोबलका साथ समुदायको स्वास्थ्य सेवामा लाग्न आग्रह गर्दै आफू स्वास्थ्य स्वयंसेविकाको साथमा रहेको बताइन्।

कार्यक्रममा वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले समुदाय स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्य सचेतनाको साथै खोप र स्वस्थ जीवनयापनमा राष्ट्रलाई योगदान दिएकोमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई धन्यवाद दिएका थिए। दिगो विकास लक्ष्य हासिल गर्न मातृशिशु,आमाबच्चा सुरक्षा, आधारभूत स्वास्थ्य शिक्षाको क्षेत्रमा प्राप्त उपलब्धिमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान रहेको बताए।

सो अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफूहरूले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको भूमिका र आफ्नो समस्याका बारेमा आ-आफ्नो धारणा राखेका थिए। आमा बच्चा स्वास्थ्य नेपालकी कविता खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका अन्तरगत २९ वटै वडामा कार्यरत २ सय ७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्