काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन्। राजधानीमा आयोजित पार्टीको जनसभामा खनालले आफ्नो पार्टी दशौं टनको बन्दै गएको हेर्न जिल्ला जिल्लामा जान ओलीलाई चुनौती दिए।
‘केपी ओलीले के भनेछन् भने उनको पार्टीलाई चाहिँ क्विन्टल हामीहरूलाई चाहिँ ढक। म यही मञ्चबाट भन्न चाहन्छु- केपी ओलीजी तपाईँको पार्टी ढक हो कि तपाईँको पार्टी क्विन्टल हो कि अथवा एकीकृत समाजवादी चाहिँ टन हो, यहाँ आएर हेर्नुस्। प्रत्येक जिल्लामा गएर हेर्नुस्। अव नेकपा एकीकृत समाजवादी टन मात्रै होइन, दशौं टनको पार्टी बन्दैछ। यो कुरा केपी ओलीले बुझ्न जरुरी छ कमरेडहरू,’ उनले भने।
खनालले यो गणतन्त्रले गाँस, बास र कपासको ग्यारेन्टी नगरेको बताए। समाजवादले मात्रै जनताको अधिकार सम्बोधन हुने उनले बताए। ‘नयाँ संविधान निर्माण भयो। संविधानको उपयोग गर्दै सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पूरा गर्नुपर्छ। समाजवादले मात्रै अधिकार स्थापित गर्छ,’ उनले भने, ‘मान्छेले मान्छेमाथि अन्याय, अत्याचार र वर्गीय शोषणलाई समाप्त पार्नेछ। साँचो अर्थको समानतापूर्ण सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्नेछ। त्यस्तो समाज निर्माणका निम्ति हाम्रो नयाँ यात्रा हो।’
यो देशलाई सबै प्रकारका अन्याय अत्याचारबाट मुक्त गराउन आवश्यक रहेको उनको भनाइ थियो। खनालले राजाका पालामा स्थापना उद्योगहरूसमेत निजीकरण गरेर खत्तम पारिएको बताए। उनले भने, ‘३ करोड नेपालीले एक वर्षमा दुई जोर जुत्ता फेर्दा पनि वर्ष ६ करोड जुत्ता बिक्री हुन्थ्यो। तर स्वदेशमा उत्पादन हुने बाँसबारी छाला जुत्ता उद्योग कहाँ गयो ? कागज उद्योग कहाँ गयो ? हाम्रै देशमा उत्पादन हुने उद्योगहरू खोइ ? देशलाई औद्योगीकरण गर्न आवश्यक छ।’
खनालले समाजवादको बाटो भनेकै देशमा उद्योग धन्दा, बजार बनाउनु र उपभोग गर्ने वातावरण बनाउनु पनि भएको जिकिर गरे। ‘देशलाई औद्योगीकरण गर्ने हो भने समाजवादको बाटो जानुपर्छ,’ उनले भने। शिक्षालाई उत्पादनमूलक र निःशुल्क बनाउनुपर्ने पनि उनको जिकिर थियो। फरक प्रसंगमा उनले नेकपा हुँदा एउटा ठुलो अवसर गुमाएको पनि स्मरण गरे। केन्द्रमा दुई तिहाइ बहुमतको सरकारदेखि प्रदेशमा ६ वटा सरकार बनाउँदा क्रान्तिको अवसर भए पनि नेकपा चुकेको उनको भनाइ थियो।



लोकपाटी न्यूज

