काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र बुझेका गभर्नरलाई सरकारले हटाएको बताएका छन्। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा ओलीले देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको बताएका हुन्।
‘राष्ट्र बैंकको डेपुटी गभर्नर भएको, अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दाखोज्दै निलम्बनमा परेको छ,’ उनले भने, ‘धान खाने मुसो चोट पाउने भ्याउत्तो भएको छ।’ ओलीले माओवादीले नियुक्त गरेका न्यायाधीशको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको भन्दै आपत्ति जनाए।
‘हामीलाई थाहा छ न्यायालय कस्तो छ भन्ने,’ ओलीले भने। ओलीले नियुक्तिहरूमा पनि नातावाद र कृपावाद चलेको बताए। देशमा नातावाद कृपावादको बहस चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्षका भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्य नियुक्ति गरिएको ओलीले बताए।
‘यत्रोविधि आन्दोलन गरेका मान्छे छन्, दु:ख पाएका मान्छे छन्, तर नियुक्ति आफन्तले खाइरहेका छन्,’ उनले भने। ओलीले नेपालमा अत्यन्त अस्वस्थ राजनीतिक प्रतिष्पर्धा भइरहेको बताए। ‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ,’ उनले भने।



लोकपाटी न्यूज

