हाम्रो ‘विद्यालय’ म बनाउँछु अभियान सुरु गर्दछौं : शिक्षामन्त्री

Debendra_Paudel
लोकपाटी न्यूज

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान सुरु गरिने बताएका छन्। दक्षिणकाली नगरपालिकास्थित सेतीदेवी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान सुरु गरिने बताएका हुन्।

उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमि हुने उल्लेख गरे। ‘हाम्रो परिवारको कुनै सदस्य बिरामी भएर अस्पताल लगौं भने उसको जीवन डाक्टरको हातमा हुन्छ,’ मन्त्री पौडेलले भने, ‘आज सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा बढी छ।’

उनले लोकसेवा आयोगको परीक्षा पास गरेका कर्मचारीको तलब र सेवा सुविधा शिक्षक सेवा आयोगको परीक्षा पास गरेका शिक्षकको भन्दा भिन्न रहेको बताउँदै एकै किसिमको बनाउने गरी पहल भइरहेको बताए। ‘विद्यालय र शिक्षा प्रणाली सुधारको उद्देश्यसहित शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने भनेका छौं,’ उनले भने।

‘सार्वजनिक विद्यालयको शिक्षा बिग्रियो भन्नुभन्दा पनि शिक्षण पेशालाई मर्यादित व्यवसायको रूपमा अघि बढाऔं मन्त्री पौडेलले भने, ‘पेशालाई मर्यादित बनायौं भने शैक्षिक सुधार आफै हुन्छ।’ शिक्षण पेशा नाफा कमाउने र तलब थाप्ने मात्र नभई सेवासहितको डिउटी भएको उनको भनाइ छ।

निजी शिक्षण संस्थाको उदाहरण दिँदै मन्त्री पौडेलले विद्यार्थी विद्यालयमा ल्याउन पढाइसँगै अभिभावकसँग नियमित छलफल र मिहिनेत गर्नुपर्ने बताए। ‘पढाउने र अभिभावको घर घरमा पुगी मिहिनेत बढी गर्ने भएकाले निजी शिक्षण संस्थामा आकर्षण बढेको देखिन्छ,’ मन्त्री पौडेलले भने, ‘सार्वजनिक शिक्षा सुधारका लागि शिक्षकले होम भिजिट गर्दै पढाउने विषयमा मिहिनेत गर्नुपर्‍यो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्