कोलम्बो। श्रीलंकाको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ। सरकारले वरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ। सरकारले उहाँसँगै के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेबारी दिएको छ। नीहरुलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले बिहीबार नियुक्ति पत्र दिएका छन्।
गभर्नरमा नियुक्त वीरासिङ्घे कोलम्बो विश्वविद्यालयमा कार्यरत थिए। अर्थशास्त्रमा गहिरो अध्ययन गरेका उनले अर्थशास्त्रसम्बन्धी अनुसन्धान र अध्यापन पनि गर्दै अाएका छन्। उनी मलेसियाको वियसान केन्टरमा पनि आबद्ध हुनुहुन्छ भने अष्ट्रेलियाको राष्ट्रिय विश्वविद्यालयमा सार्वजनिक नीति र व्यावहारिक अर्थतन्त्र विश्लेषण केन्द्रको सल्लाहकार समिति सदस्य हुन्।
त्यसैगरी अर्थ सचिवमा नियुक्त सिरिवर्धनाले अन्तर्राष्ट्रिय वित्तिय कोषको तर्फबाट श्रीलङ्का, भारत, बङ्लादेश र भुटानका लागि वैकल्पिक निर्देशकको रुपमा काम गरेका थिए। उनले श्रीलङ्काको आर्थिक विभागको महानिर्देशकको रुपमा समेत अर्थतन्त्रमा योगदान गरिसकेका छन्। राष्ट्रपति राजापाक्षेले यसअघि गत बुधबार अर्थशास्त्री तथा विज्ञहरुलाई सहभागी गराएर सल्लाहकार समूह गठन गरेका थिए।
श्रीलङ्कामा अहिले आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ। तत्कालीन मन्त्रीहरुले राजीनामा दिएका छन् भने आम नागरिक आन्दोलनमा छन्। रासस



लोकपाटी न्यूज

