‘प्रकाण्ड’सहित नेकपाको टोली किन पुग्यो निर्वाचन आयोग ?

Prakanda
लोकपाटी न्यूज

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितको टोली निर्वाचन आयोगमा पुगेको छ। स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न सो टोली बिहीबार निर्वाचन आयोगको कार्यालय पुगेको हो।

उनीहरूले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन्। पार्टीका प्रवक्ता प्रकाण्डले आगामी निर्वाचनमा आफ्नो सहभागिताको सम्भावनाबारे छलफल भएको बताए। ‘हामी चुनावमा जान्छौं। त्यसैको लागि परामर्श गर्न आएका हौं। दल दर्ताका लागि के के छन् प्रावधान बुझ्न आएका हौं,’ आयोगबाट बाहिरिँदै उनले भने।

स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि दल दर्ता लगायतका काम आयोगले सकिसकेको छ। तर, चुनावमा भाग लिने निश्चित नगरिसकेको सो पार्टी आयोग दर्ता भएको थिएन। सो पार्टीमा निर्वाचनमा भाग लिने कि नलिने भन्नेमा दुईथरी धारणा छ।

पार्टीको केही अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो। तर, महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले चुनावमा जान चाहेका थिए। अल्पमतमा परेपछि उनीहरू प्रस्तावबाट पछि हटेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्