एमालेले सरकार ढाल्न पर्दैन, आफै ढल्छ : केपी ओली

लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगी व्यवसायीहरूले नेतृत्व लिनुपर्ने बताएका छन्। नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा ओलीले उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन नसक्ने बताए।

उनले हामीले हाम्रो आवश्यकता लागि किन्ने सामान नेपालमा नै बनेको हुनुपर्ने बताए। ‘हामीले कच्चापदार्थ होइन, रूपान्तरित र प्रशोधित गरेको सामान बजारमा पठाउनुपर्दछ,’ उनले भने, ‘कच्चा होइन, प्रतिस्पर्धात्मक गर्ने खालको सस्तो र गुणस्तरीय सामान हामीले उत्पादन गर्नुपर्दछ।’ अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रिय आकांक्षा अनुरूप समृद्धि र विकास चाहेको उल्लेख गर्दै यसका लागि उद्यम र उद्योगीलाई सहयोग गर्ने पार्टीको नीति रहेको बताए।

उद्योगलाई आधुनिकीकरण गर्दा श्रमिकको पनि आधुनिकीकरण गर्नुपर्नेमा बताउँदै उनले धितो राखेर मात्र होइन, मानव मस्तिष्कले ऋण पाउनुपर्नेमा जोड दिए। उनले बैंकसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश संकटमा रहेको बताए।

‘खल्तीमा कसैको पैसा हुँदैन। बैंक त्यसैकारण खोलेका हुन्। कुनै पनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ। दिनुपर्छ बैंकले। नयाँ लगानीका लागि कुनै सम्भावना छैन यतिखेर किनभने बैंक पैसा दिन सक्दैन। बैंक पैसा दिन सक्ने अवस्थामा छैन। यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बरबादीतिर धकेल्छ,’ ओलीले भने।

उनले सरकार ढाल्न आफूहरूले कोसिस नगर्ने स्पष्ट भन्दै एमालेको ध्यान सबै चुनावमा केन्द्रित भएको बताए। ओलीले सरकार ढाल्नै नपर्ने पनि बताए। उनले भने, ‘यो सरकार ढाल्न त हामी कोसिसै गर्दैनौं। यो ढालेको बात पनि नलागोस् क्या। यो आफैँ झरोस्। कुहिएर फतक्क झरोस्। त्यसो भएर हामी अहिले सरकारको बारेमा कतै ध्यान दिइराखेको छैनौं। चुनावमा ध्यान दिइराखेका छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्