नवलपरासी। नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा रहेका समस्याहरूको विन्यास गरी तीन तहबाट एकै साथ समस्या समाधानको सुरुवात गरिएको बताएका छन्। पश्चिम नवलपरासी सुनवल नगरपालिकाले आयोजना गरेको गुणस्तरीय शिक्षाका लागि शैक्षिक अन्तर्क्रिया कार्यक्रममा बोल्ने क्रममा मन्त्री पौडेलले सो कुरा बताएका हुन्।
राजनैतिक व्यवस्था फेरिएको भए पनि शिक्षा क्षेत्रमा विभिन्न प्रकारका समस्याहरूले जकडिएको अवस्थामा अहिले आफू शिक्षा सुधारको अभियानमा लागेको बताए। शिक्षा क्षेत्रका समस्याहरूलाई भौतिक पूर्वाधार सुधार, नीतिगत सुधार र शिक्षालाई नयाँ प्रविधियुक्त बनाउनु पर्ने देखिएकाले अहिले शिक्षा मन्त्रालयले देशमा शिक्षातर्फ सुधारका लागि तीनै प्रकारका समस्याहरूको समाधानका लागि आफूले काम सुरु गरेको बताए।
शिक्षा क्षेत्रका कर्मचारी एवं ज्ञान दिने शिक्षकहरू आफ्नो कार्यक्षेत्रमा खुशी नभई शिक्षामा परिवर्तन सम्भव नभएकाले शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारी एवं शिक्षकहरूको सेवा सुविधामा समेत सुधार गर्नुपर्ने भएकाले शिक्षा मन्त्रालयले केही नीतिगत समस्याहरूको समाधानका लागि फाइल मन्त्रिपरिषदमा लगेको बताए। माओवादी जनयुद्धको बेला विस्थापित भएका शिक्षकहरूको समस्या समाधान गरिएको छ भने शिक्षक एवं शैक्षिक क्षेत्रका कर्मचारीको सुविधा बढाएर नेपाल सरकारका अन्य कर्मचारी सरह नै सेवा सुविधा रहने व्यवस्था गरिएको बताएका छन्।



लोकपाटी न्यूज

