मनाङ। स्थानीय तह निर्वाचन नजिकिएसँगै देशभर गाउँदेखि सहरसम्म चुनावी चहलपहल बढे पनि मनाङमा भने चुनावी सरगर्मी बढेको देखिएको छैन। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलले उम्मेदवार छनौट गरिरहेका छन् । तर, हिमाली जिल्ला मनाङमा भने चुनावी गतिविधिहरु नबढ्दा उम्मेदवार छान्ने काम पनि हुन सकेको छैन।
जिल्लावासी जाडो छल्न बेँसी झरेकाले पनि यहाँ चुनावी चहलपहल सुरु हुन नसकेको हो । चैतको दोस्रो सातापछि यहाँका स्थानीय विस्तारै गाउँ फर्कने गर्दछन्। गर्मी बढेसँगै जिल्लावासी मनाङ फर्कन थालेपछि चुनावी प्रचारप्रसार बढ्ने देखिएको छ। जिल्लाका नेताहरु अहिले गाउँ पुगेका छैनन्। धेरैजसो मतदाता पनि जिल्ला बाहिर रहेकाले पनि नेताहरु जिल्लामा नपुगेको आँकलन गर्न सकिन्छ। जिल्लाका राजनीतिक दलका नेताहरु गाउँ नपुगे पनि निर्वाचन कार्यालयले भने निर्वाचनसम्बन्धी आवश्यक कार्यहरु अगाडि बढाएको बताएको छ।
माथिल्लो मनाङमा चुनावी माहोल नबनेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले बताउनुहुन्छ। ‘‘अब नेताहरू आउनुहुन्छ होला, विस्तारै तात्ने बेला हुन लागेको छ”, उहाँले भन्नुभयो। उहाँका अनुसार चिसो छल्न काठमाडौँ–पोखरा, अन्यत्र गएका स्थानीयवासी विस्तारै फर्किन थालेका छन्। नार्पाभूमिका गाउँ पनि अहिले सुनसान छन्। स्थानीयसँगै केही जनप्रतिनिधि र कर्मचारी पनि फर्किन बाँकी नै छ। गाउँपालिका अध्यक्ष मिङ्माछिरिङ लामाका अनुसार बाहिर रहेका गाउँपालिकाका बासिन्दा फर्किएका छैनन।
निर्वाचन कार्यालयको तयारी
चुनावी कार्यक्रमहरु सञ्चालन नभएको भए पनि निर्वाचन कार्यालयले तयारी गरिरहेको छ। स्थानीय तह निर्वाचनका लागि मनाङमा २०० कर्मचारी खटाउने निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका दलको दर्तादेखि स्थानीय तहहरुसँगको समन्वयमा मतदाता नामावली अद्यावधिकलगायत काम भइरहेको छ। निर्वाचन आयोगले मनाङ जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाललाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ। खनाललाई सदरमुकाम चामे गाउँपालिका जिम्मेवारी दिएको छ।
निर्वाचन आयोगले मनाङको नासो गाउँपालिकामा जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडु, नार्पाभूमि गाउँपालिकामा सरकारी वकिल कार्यालयका दिनेशकुमार रेग्मी र मनाङ ङिस्याङ गाउँपालिकामा सरकारी वकिल कार्यालयका केदारनाथ उपाध्यायलाई निर्वाचन अधिकृत तोकेको छ । दलहरुले चुनावी तयारी गरिरहँदा निर्वाचन कार्यालयले पनि आफ्ना कामअघि बढाएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार निर्वाचन अधिकृतका लागि स्थानीय तहमा कार्यालय स्थापना गर्ने, फर्निचर, सिसीटीभी क्यामरा, इन्टरनेट जस्ता आवश्यक सुविधा मिलाउने कार्य भइरहेको छ। मतदान र मतगणनाको जानकारी आयोगमा श्रव्य र दृश्य दुवै माध्यमबाट प्रेषण गर्नुपर्ने भएकाले उक्त जिम्मा स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यहरु गरिएको छ।
पाँच दल थपिए
आगामी स्थानीय तहको निर्वाचनका लागि मनाङमा छ वटा मान्यता प्राप्त दलबाहेक पाँच वटा दल दर्ता भएका छन्। मनाङमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा समाजवादी पार्टी, सामाजिक एकता पार्टी र उन्नत लोकतान्त्रिक पार्टी दर्ता भएको निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो। जिल्लामा नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय छन्। तीमध्येका अधिकांश दलले चुनावी अभियानको थालनी गर्दैछन्।
२८ वटा मतदान केन्द्र
निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। मनाङमा कूल ६ हजार ४९६ मतदाता छन्। ती मतदातामध्ये तीन हजार ३४८ महिला र तीन हजार १४८ पुरुष रहेको निर्वाचन कार्यालयले जनाएको छ। मनाङ नेपालको सबैभन्दा कम मतदाता रहेको जिल्ला हो।
म्यादी प्रहरी मागभन्दा कम
विकट र थोरै जनसङ्ख्या रहेकाले मनाङमा माग भएभन्दा कम मात्रले म्यादी प्रहरीमा आवेदन गरे। जिल्लामा निर्वाचनका निम्ति २५८ म्यादी प्रहरीको माग गरिएकामा तोकिएको समयसम्म परेको आवेदनले माग पूर्ति नभएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। सो कार्यालयका अनुसार १४८ आवेदन मात्र परेको थियो।
विगतमा जस्तै आगामी निर्वाचनका लागि पनि छिमेकी जिल्लाबाट सोध भर्ना गरी सुरक्षा प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा माग पूर्ति नभएकाले छिमेकी जिल्लाबाट म्यादी प्रहरी सोध भर्ना गरिनेछ।
निर्वाचन नजिकिँदा योजना सम्झौता तीव्र
मङ्सिरदेखि फागुनसम्म चिसोका कारण बेँसी झरेका मनाङवासी विस्तारै गाउँ फर्किन थालेका छन्। “चैत लागेपछि बल्ल विकास निर्माणको काम सुरु हुन्छ। गाउँपालिकातिर आउने जाने गरिरहेको छु”, माथिल्लो मनाङस्थित पिसाङ निवासी याङदुङ गुरुङ भन्नुहुन्छ, “चुनावको चर्चा भएको टीभीतिर हेरेको छु, सुनेको छु। यहाँ कुनै कार्यक्रम भएको छैन र सुनेको पनि छैन।”
गुरुङ अहिले विकास निर्माणको कार्यमा व्यस्त हुनुहुन्छ। गाउँमा हुने विकास निर्माणका योजना सम्झौता र कार्यान्वयनमा दिन बित्ने गरेको उहाँ बताउनुहुन्छ। बेंसीसहर-चामे सडकको तिमाङ छहरामा बन्दै गरेको पुल निर्माण हुन बाँकी छ । पुल अब १९/२० तिर बन्ने बताइएको र त्यसपछि गाउँले आउने आँकलन गरिएको छ। प्रशासनले चुनाव लक्षित गर्नुपर्ने सम्पूर्ण काम तीव्र रुपमा अघि बढाएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । “निर्वाचन अधिकृत तोकिसकेको अवस्था छ। हामीले मतदानस्थलको अवलोकन गरेर पानी, बिजुली, कम्पाउन्डको अवस्था हेरेका छौँ”, उहाँले भन्नुभयो।
उहाँका अनुसार मनाङवासी अझै गाउँ फर्केका छैनन्। तिमाङ छहराको पुल निर्माण भएपछि गाडी लिएर सिधैँ गाउँघर फर्किने खबर पाएको उहाँले बताउनुभयो। “मनाङवासी फर्केपछि चुनावी माहोल बन्ने बुझिएको छ। अहिले देखिएको छैन भन्दा पनि हुन्छ”, उहाँले भन्नुभयो। मनाङमा ४ गाउँपालिका छन्।
सबैभन्दा विकट मानिने नार्पाभूमिका गाउँ पुग्न चामे नजिकै कोतोबाट दुई दिन लाग्छ। विसं २०७४ को स्थानीय तह निर्वाचनमा नासो र नार्पाभूमिको अध्यक्ष काँग्रेसले तथा चामे र मनाङ ङिस्याङमा एमालेले जितेको थियो। रासस



लोकपाटी न्यूज