एमालेसँग गठबन्धन गर्न कुरा चलेको भन्ने माओवादी नेताको भनाइ झुटो हो : ईश्वर पोखरेल

Ishwor-Pokhrel
लोकपाटी न्यूज

चितवन। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको आरोप लगाएका छन्। चितवनमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पोखरेलले प्रधानमन्त्रीले भारत भ्रमणमा गएर चुच्चे नक्सालाई बुच्चे बनाएर फर्किएको टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री देउवाको भ्रमण भारतप्रति भक्तिभाव देखाउनमा सीमित बनेको उनको दाबी छ। पोखरेलले भने, ‘स्वाभिमानी मुलुकको प्रधानमन्त्रीका हिसाबले जसरी भ्रमणमा प्रस्तुत हुनुपर्थ्यो त्यो गर्न सक्नुभएन।’ प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धिविहीन भएको उनले पनि बताए। उनले प्रधानमन्त्रीको भारत भ्रमणले केही उपलब्धि हासिल नगरेको प्रतिक्रिया दिए।

‘उहाँको भारत भ्रमणको उपलब्ध केही छँदै छैन। बरु नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर बनाउने काम गर्नुभएको छ,’ उनले भने। उपाध्यक्ष पोखरेलले पार्टी विभाजन गरेर हुँदा खाँदाको सरकार ढाल्ने शक्तिसँग गठबन्धनको सम्भावना नरहेको बताए। उनले एमालेसँग गठबन्धनका लागि छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका नेताहरूको भनाइ झुटो रहेको बताए।

माओवादी नेता वर्षमान पुनले आत्मआलोचना गरे एमालेसँग गठबन्धन हुन सक्ने अभिव्यक्ति दिएका थिए। ‘जसले पार्टी विभाजन गरेर हुँदा खाँदाको कम्युनिष्ट सरकार ढालेर अपराध कर्म गर्‍यो त्यो शक्तिसँग गठबन्धन गर्ने भन्ने कुरै हुँदैन,’ उनले भने, ‘दुई पार्टीका नेताहरूका बीचमा भेटघाट हुन सक्छ, भेट हुँदा राजनीतिक विषयमा कुरा, समीक्षा हुन सक्छ तर गठबन्धनका लागि छलफल चलेको भन्ने कुरामा सत्यता छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्