सिन्धुली। संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाको लालपुर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट सुरु गरिएको छ। राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन घर परिवारलाई लालपुर्जा वितरण गरिएको हो।
भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण कार्यक्रमको आज सुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले सुरु गरेको भूहिनिलाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहीन कोही पनि जग्गा पाउनबाट छुट्न नहुने बताइन्।
भूमिहीनलाई भूमि उपलब्ध गराउने अभियानमा देश जुटिरहेको भन्दै मन्त्री श्रेष्ठले बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमानै समाधान गर्न आफूहरू लागिरहेको पनि बताए। मन्त्री श्रेष्ठले एक वर्षभित्र सबै गाउँ ब्लकको जग्गाको नापी गर्ने र लालपुर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने पनि बताइन्।
उनले भने, ‘सरकार संविधानको कार्यान्वयन र भूमिहीनलाई भूमि उपलब्ध गराउने काममा जुटिरहेको छ। भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई ललापूर्जा वितरणको काम पनि अब राष्ट्रिय भूमि आयोग मार्फत सुरु भइसकेको छ, निर्वाचन आचारसंहिता कारण केही समय लालपुर्जा वितरणको काम रोकिने भए पनि निर्वाचन लगत्तै पुनः कामले तीव्रता पाउने छ भने देशभर रहेका गाउँ ब्लकको जग्गा नापी र लालपुर्जा वितरणको काम एक वर्षभित्र गरिसक्ने गरी काम सुरु गरिसकिएको छ।’
मन्त्री श्रेष्ठले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उद्देश्य रहेको भन्दै आगामी दिनमा फेरी पनि आयोग गठन गरिरहनु पर्ने तथा भूमि सम्बन्धी विषयमा हात हालिरहनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न लागिपरेको पनि बताए।



लोकपाटी न्यूज