काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वैज्ञानिक समाजवाद निर्माणका लागि देशभक्त शक्ति सबै एकजुट हुनु आवश्यक रहेको बताएका छन्। वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलामा विप्लवले देशभक्त र देशघातीबीच ध्रुवीकरण भएको पनि दाबी गरे।
सामन्तवादलाई गाउँ गाउँबाट लखेट्न नयाँ खालको विद्रोह आवश्यक रहेको उनको भनाइ छ। ‘देशभक्त र राष्ट्रघातीको बीचमा देश ध्रुवीकरण हुँदैछ। देश बेचेर खाने दलाल पुँजीपति वर्गका विरुद्ध हिँड्नुपर्छ,’ विप्लवले भने, ‘एमसीसीका पक्षधरविरुद्ध हामी सबै अघि बढ्नुपर्छ। नयाँ पुस्तालाई तयार गर्नुपर्छ। वैज्ञानिक समाजवाद निर्माणको दिशामा अघि बढ्नुपर्छ।’
उनले गलत प्रवृत्तिसँग संघर्ष गर्न नयाँ मोर्चा बनाउन आवश्यक भइसकेको बताए। ‘चन्दा मागेर खाने पार्टीबाट श्रम गरेर खाने पार्टी बन्नुपर्छ। नव धनाढ्य वर्गको सत्तालाई खरानी बनाउनुपर्छ। त्यसका लागि नयाँ मोर्चा बनाउन आवश्यक छ। दलाल पुँजीवादी सत्ताका विरुद्ध लडौं। नेपाली जनताहरू परिवर्तन चाहन्छन्। गलत प्रवृत्तिसँग निर्ममतापूर्वक संघर्ष गर्न आवश्यक छ,’ उनले भने।



लोकपाटी न्यूज

