नेपालप्रति सबैको चासो बढ्दै छ, युक्रेनको जस्तै दुर्घटनामा पर्न सक्छौं : डा. भट्टराई

Baburam_Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छाया मडारिरहेको बताएका छन्। रिपोर्टस क्लबको कार्यक्रममा भट्टराईले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धहरूले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहेको बताए।

उनले नेपाल विश्वका शक्तिशाली देशहरूको चासो बनेको भन्दै यो परिस्थितिलाई समयमै आकलन गरेर राष्ट्रिय मुद्दामा राष्ट्रिय समझदारी बनाउनुपर्ने बताए। पूर्वप्रधानमन्त्री भट्टराईले युक्रेनको घटनाबाट पाठ सिकेर सबै देशसँग सन्तुलित सम्बन्ध कायम नगर्ने हो भने देश ठूलो दुर्घटनामा जान सक्ने बताए।

भट्टराईले भने, ‘एउटा नयाँ शीतयुद्धको छाया प्रतिछाया मडारिँदै छ। भारत, चीन, अमेरिकाका बीचका सम्बन्धले हाम्रो आन्तरिक सम्बन्धलाई समेत प्रभावित पार्ने परिस्थिति बन्दै गएको छ, यसलाई हामीले बेलैमा आंकलन गरेर राष्ट्रिय समझदारी बनाउनै पर्छ। ठूला देशहरूको बीचमा रहेको देशले राष्ट्रिय मुद्दामा सहमति कायम गर्नै पर्छ। युक्रेनको घटना हामीलाई ठूलो पाठ हुन सक्छ। हामी विश्व शक्ति देशहरूको बीचमा छौं। सबैको चासो बढ्दै छ। हामीले बेलैमा राम्रो सन्तुलित सम्बन्ध मिलाएर जान सकेनौं भने हामी नराम्रो दुर्घटनामा पर्न सक्छौं।’

भट्टराईले लोकतन्त्रलाई अझै पनि ठीक ढंगले पूर्णता दिन नसकिएको बताए। उनले पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीमा नगएसम्म देशमा लोकतन्त्रले पूर्णता नपाउने दाबी पनि गरे। भट्टराईले देशको अर्थतन्त्रलाई बचाउन श्रम निर्यात गर्ने र वस्तु आयात गर्ने अर्थतन्त्र नभई पुँजी र प्रविधि आयात गर्ने र वस्तु र सेवा निर्यात गर्ने अर्थतन्त्रमा बदल्नु पर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्