दलहरूले बढाए चुनावी गतिविधि

लोकपाटी न्यूज

महेन्द्रनगर। आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ। सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

एमालेका अध्यक्ष सुरेन्द्र विष्टले जिल्लाभरका वडाका कमिटीलाई प्रशिक्षण दिएर चुनावमा पार्टी विजयी गराउन सक्रियता बढाएको बताए। केही दिनअघि मात्रै महेन्द्रनगरमा ९२ वडाका पार्टी प्रतिनिधिलाई प्रशिक्षण दिएको एमालेले वडास्तरमा घरदैलो, पार्टी सम्पर्क कार्यालय स्थापनालगायत कामलाई तीव्रता दिएको जनाएको छ।

चुनाव लक्षित नेता तथा कार्यकर्तालाई जिम्मेवारी र केन्द्रीय तहका नेता प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा परिचालन हुने एमालेले जनाएको छ। अध्यक्ष विष्ट जिल्लाभर, जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी बुढा निर्वाचन क्षेत्र नं २, सचिव पल्लवराज भट्ट र उपसचिव फैरी तामाङ क्षेत्र नं १ तथा उपसचिव कर्णबहादुर चन्दलाई क्षेत्र नं ३ मा खटाइएको छ।

त्यसैगरी नेपाली काँग्रेसले पनि जिल्लाभर चुनावी अभियान सञ्चालन गरिरहेको छ। ‘घर घर जाऔँ, काँग्रेस जिताऊ’ अभियानका साथ नेताहरू वडास्तरसम्म परिचालन भएको काँग्रेसले जनाएको छ। यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट समेत पार्टी प्रशिक्षणलगायतका काम गरिसकेको काँग्रेसले अघिल्लो निर्वाचनभन्दा यस पटक माहौल आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा काँग्रेस यहाँ दुई पालिकामा मात्रै विजयी भएको थियो।

त्यसैगरी माओवादी केन्द्रले पनि चुनावी अभियान वडास्तरसम्म सञ्चालन गरिरहेको छ। माओवादीले यसअघि यहाँका दुई पालिकामा जित निकालेको थियो। माओवादीका अनुसार यहाँ विभिन्न तहका नेतालाई जिम्मेवारी दिएर घरदैलो अभियानमा खटाइएको छ। त्यसैगरी एमालेबाट विभाजित भएको एकीकृत समाजवादी पनि स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ। वडास्तरसम्म पार्टी विस्तार गरिरहेको समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार जना सदस्य रहेका छन्।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व सम्हालेसँगै अध्यक्ष गजेन्द्रबहादुर चन्दले दोधारा चाँदनीदेखि बेलौरीसम्म चुनावी अभियान सञ्चालन गरे। चुनावी अभियानका क्रममा पार्टी कार्यक्रममा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन दुई पटक कञ्चनपुर आइसकेका छन्। यस पटक राप्रपाको सांगठनिकस्वरुप फराकिलो हुँदै जाँदा अन्य दलहरू पनि चुनावमा असर पर्ने भन्दै सशंकित छन्। चुनावी अभियान सञ्चालनलाई दलहरूले गति दिए पनि उम्मेदवारको टुंगो भने कसैले लगाएका छैनन्। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्