एमाले क्विन्टलको ढक जस्तो हो : केपी ओली

लोकपाटी न्यूज

भक्तपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन्। व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको ‘सूर्यविनायक हरित कृषि तथा थोक बजार प्राली’को उद्घाटन गर्दै उनले एमालेले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताएका हुन्।

अध्यक्ष ओलीले एमालेकै नेतृत्वमा देशमा समृद्धि ल्याइने पनि बताए। उनले भारतसँग मात्र नभएर चीनसँग पनि पारवहन सम्झौता भएको उल्लेख गर्दै नेपालले समुद्रबाट पनि सामान ल्याउन सक्ने र ठूला जहाज आउन सक्ने बन्दरगाह खोलेको बताए। उनले यो गठबन्धनले चुनावमा अप्ठेरो पार्छ कि भनेर नसोच्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

ओलीले भने, ‘साथीहरूले बुझ्नु भएको छ। बुझेर नै एमाले प्रवेश गरिरहनुभएको छ। यसले देखाउँछ-नेकपा एमाले कुन ठाउँमा छ ? भन्ने। कतिपय साथीहरूलाई लाग्न सक्छ- गठबन्धन गरेका छन्, अप्ठ्यारो पर्छ कि भन्ने। मैले भन्ने गरेको छु- यदि एउटा तराजुमा एक/एक किलोको पाँच वटा ढक एकातिर राख्नुभयो अनि क्विन्टलको ढक एकातिर राख्नु भयो भने के हुन्छ ? नेकपा एमाले क्विन्टलको ढकजस्तो हो। गठबन्धनका पाँच दल भनेको एक/एक किलोको ढक जस्तो हो। त्यो गठबन्धनले के गर्छ ? एक्लै एमालेसँग लड्न आउन नेपालमा कुनै पनि पार्टीले नचिताए हुन्छ। त्यस कारण गठबन्धन गर्न जरुरी छ।’

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र एमाले सांसद महेश बस्नेतले देशमा स्थानीय तहको निर्वाचन आएसँगै एमालेको लहर आएको दाबी गरे। त्यसअवसरमा व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा ५० रोपनी क्षेत्रफलमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याएको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्