नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छ : मन्त्री बडू

लोकपाटी न्यूज

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली संघले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन्।

बुधबार काठमाडौंमा गैरआवसीय नेपाली संघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बडूले ‌सवैधानिक व्यवस्थाअनुसार नागरिकतासँग सम्बन्धित विषय र संघले उठाउँदै आएका अरू मागहरू कानुन र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता गरे।

चैत्र १२ र १३ गते काठमाडौंमा सम्पन्न दसौँ गैर आवासीय नेपाली सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मन्त्री बडूले समुन्नत नेपाल निर्माणको अभियानमा गैर आवासीय नेपालीसँग सहकार्य गर्न सरकार तयार रहेको बताए।

संघका अध्यक्ष कुल आचार्य नेतृत्वको टोलीले मन्त्री बडूलाई नेपालको संविधान २०७२ ले गैर आवासीय नेपाली नागरिकताका सम्बन्धमा गरेको व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, तीन पुस्तापछिको एनआरएनलाई पनि गैर आवासीय नेपाली नागरिकताबाट बन्चित नगराउने गरी संविधान संशोधनका लागि राजनीतिक सहमति र दोहोरो नागरिकता लिन नमिल्ने देशमा रहेका गैर आवासीय नेपालीहरूका लागि परिचयपत्रको माध्यमबाट सम्पत्ति लगायतका अधिकार प्रयोग गर्न सकिने गरी गैर आवासीय नेपाली ऐन २०६६ लाई संशोधन गर्न पहल र सहयोगका लागि आग्रह गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्