पर्सा। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन्। राप्रपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिलो १५ वर्षको राजानीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रमण सोचले राजसंस्था पुनःस्थापनको सम्भावनालाई समाप्त पारेको बताए।
राजसंस्थाको पुनःस्थापना नेपालकै राजनीतिक दल र आमजनताले गर्ने भए पनि पूर्वराजाले आफ्नो भावना सार्वजनिक गर्दा दलप्रति वितृष्णा फैलाउने काम मात्र गरेकाले राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भएको अध्यक्ष थापाले प्रष्ट पारे। उनले राजसंस्था पुनःस्थापनाको वकालत गर्ने एक मात्र पार्टी राप्रपामा पूर्वराजा र उनको सचिवालयले गरेको चलखलेका कारण आफू नयाँ बाटोतर्फ लागेको बताए।
अध्यक्ष थापाले आउने स्थानीय तहको निर्वाचनबाट धेरै अपेच्छा नराखे पनि देशकै सम्पूर्ण स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवार चुनाव लड्ने जानकारी दिए। पार्टीलाई अझ ठूलो बनाउने महत्वकांक्षा राखेर गलत प्रवृतिसँग गलत सम्झौता गरेका कारण गत निर्वाचनमा पार्टीले ठूलो पराजय व्यवहोरेको उनले स्वीकार गरे। हिन्दू राष्ट्रकै एजेण्डाले राप्रपा नेपाललाई मुलुकको शक्तिशाली राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने पनि उनको दाबी छ।



लोकपाटी न्यूज

