काठमाडौं। गत शुक्रवारदेखि जारी नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ। बैठक सानेपामा बिहान साढे ११ बजेदेखि सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले बैठक आज सकिने बताए। बैठकमा चुनावी तालमेल, टिकट बाँड्न केन्द्रीय संसदीय समितिको गठनलगायत विषयमा छलफल हुने उनले बताए।
बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। उनले भने, ‘आजको बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिन्छ। मोडालिटीबारे पछि टुंगो लाग्छ।’ उनका अनुसार जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले धारणा राखेर आजै बैठक टुंग्याउने तयारी छ।
शुक्रवारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म ‘घर घर जाऔं काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ सुनाएका छन्। चुनावमा तालमेलका विषयमा उनीहरूले आफ्ना धारणा राखिरहेका छन्। काँग्रेसमा अधिकांशले गठबन्धनको आवश्यकता परे पनि तालमेल गर्ने अधिकार स्थानीय पार्टी समितिलाई नै दिनुपर्ने बताइरहेका छन्।



लोकपाटी न्यूज

