निर्वाचन आयोगले सत्ता पक्षसँग साठगाँठ गर्‍यो : केपी ओली

KP sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग सत्ता पक्षलाई फाइदा दिने ढंगले अघि बढेको आरोप लगाएका छन्। पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयन दुई दिन गर्ने, एमालेले निष्कासन गरेका व्यक्तिलाई मान्यता दिएर पार्टी दर्ता गर्ने जस्ता क्रियाकलापलाई एमालेले सामान्य रूपमा नलिएको समेत बताए ।

उनले भने, ‘हामी निर्वाचन आयोगबाट विगतदेखि नै पीडित छौँ। मतपत्र च्यातेर हामीलाई हराउँदा पनि हाम्रो विरुद्ध फैसला आएका छन्। राष्ट्रियसभा निर्वाचनको मत परिणाम रोकेर हाम्रो सरकार गठनमा अवरोध सिर्जना गरिएका छ। अहिले मतपत्रको रङ बदल्न एमालेविरुद्ध निर्वाचन आयोगले सेटिङयुक्त काम गरिरहेको छ। दलहरूसँग छलफल नगरी यस्तो निर्णय गर्नै मिल्दैन। तर निर्वाचन आयोग अटेर ढंगले अघि बढेकोले हामीले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउने ठाउँ देखिएको छ।’

ओलीले आयोगका निर्णयविरुद्ध कडा रुपमा उभिन निर्देशन दिए। आयोगका कामलाई बलमिच्याइँको संज्ञा दिँदै उनले भने, ‘साथीहरुले स्ट्रङले कुरा राख्नु होला। मतपत्रको रंग बदल्नैपर्छ, यो सत्ता पक्षलाई फाइदा हुने गरी गरेको काम हो। आयोगले बलमिच्याइँ किन गरेको छ ? सत्ता पक्षको फाइदाको लागि ?’

ओलीले मनोनयनका लागि दुई दिन समय दिएकोप्रति पनि आपत्ति जनाए। ‘मननोयन दर्ताका लागि दुई दिन किन ? कहिल्यै यस्तो भएको थिएन। पहिला स्रोत साधनको अभाव भएका बेला पनि एकैदिन हुन्थ्यो। सत्ता गठबन्धनको झगडा मिलाउन दुई दिन आयोगले मनोनयनको समय दियो,’ उनले भने, ‘हामीले निस्कासन गरेका मान्छेलाई छानबिन नगरी हतार-हतार सात दिनमा अर्को दल बनाएको छ। आयोगको साठगाँठ सत्ता पक्षसँग प्रत्यक्ष देखिन्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्