एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्रीबीच के कुरा भयो ?

oli_wang
लोकपाटी न्यूज

काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। भेटमा एमालेका अध्यक्ष ओलीले ‘बेल्ट एण्ड रोड’ अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेका छन्। चीनसँग भएको बीआरआई सहमति अनुसार काम हुन नसकेको र कतिपय योजनाहरू कार्यान्वयन नभएकोले तत्काल सुरु गर्न ओलीले आग्रह गरेको बुझिएको छ।

त्यसैगरी अहिले रोकिएका तातोपानी र रसुवागढी नाका खोल्न पनि ओलीले वाङसमक्ष आग्रह गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए। ‘कोरोना महामारीपछि नेपालमा केही समस्या उत्पन्न भएका छन्। नाकाहरू बन्द भएका छन्। नाकाहरू खुल्नु पर्‍यो। नेपाली विद्यार्थी जो चीनमा अध्ययनरत थिए, कोरोनाका कारण उनीहरू फर्केर आएका थिए। छिटो उनीहरूलाई फर्काएर पढाई सुचारु गर्नुपर्‍यो,’ अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै भट्टराईले भने।

त्यसैगरी, हुम्लाभन्दा पारी करिब ५ सय नेपालीहरू रोकिएको घटनाबारेसमेत ओलीले चासो राखेका थिए। त्यस्तो हो भने उनीहरूलाई आउने व्यवस्था मिलाउन पनि ओलीले चिनियाँ विदेश मन्त्रीको ध्यानाकर्षण गराएका थिए। चिनियाँ विदेश मन्त्री वाङले चिनियाँ लगानीमा सञ्चालित आयोजनाहरू छिटो सक्न प्रतिबद्ध रहेको बताएका थिए। उनले ठूलो मुलुक र सानो मुलुकको सम्बन्ध कस्तो हुनपर्छ भन्ने उदाहरण चीन र नेपाल हो भनेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्