अन्तरिक्षमा स्याटेलाइट राख्ने अधिकार हामीले स्थापित गरेका हौं : केपी ओली

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिक्षमा नेपाली स्याटेलाइट राख्ने अधिकार आफूले स्थापित गरेको बताएका छन्। अन्तरिक्षमा नेपाल स्याटेलाइट राख्ने ठाउँ अर्कैले उपयोग गरिरहेको अवस्थामा आफू नेतृत्वको सरकारले नेपाली स्याटेलाइट राख्ने अधिकार सुनिश्चित गरेको उनले बताए।

पार्टी मातहतका उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनमा ओलीले अन्तरिक्षमा नेपालले स्याटेलाइट राख्ने ठाउँ लावसले प्रयोग गरिरहेको अवस्थामा वार्ता गरेर फिर्ता लिएको बताए। उनले भने, ‘हामी पहिलो पल्ट अन्तरिक्षमा प्रवेश गर्यौं। सानो भए पनि स्याटेलाइट बनायौं। ‘नेपाली स्याट-१’ नामको स्याटेलाइट हामीले पहिलो पल्ट अन्तरिक्षमा पुर्‍यौं।’

ओलीले अगाडि थपे, ‘अन्तरिक्षमा हाम्रो स्याटेलाइट राख्ने अधिकार हामीले स्थापित गर्यौं। अन्तरिक्षमा हाम्रो स्याटेलाइट राख्ने ठाउँ लावसले प्रयोग गरिरहेको थियो। हामीले प्रयोग गर्ने आकाश अर्कैले प्रयोग गरिरहेको थियो। लावससँग वार्ता गर्‍यौं र आफ्नो आकाश फिर्ता लियौं। अब अन्तरिक्षमा हाम्रो स्याटेलाइट राख्ने ठाउँ छ। र अन्तरिक्ष सबैको हो।’

सत्तारुढ दलहरूले चुनावमा आफू नेतृत्वको सरकार रहेका बेला गरेका कामको भण्डाफोर गर्ने भनेकोप्रति लक्षित गर्दै ओलीले उक्त ऐतिहासिक सफलताको भण्डाफोर गर्न लागिएको हो र भन्दै प्रश्न गरे। ‘चुनावमा जाँदा एमालेको भण्डाफोर गर्ने ! के भनेर गर्ने ?,’ उनले भने, ‘जयनगर-जनकपुर-बर्दिबास रेल्वे ट्याक किन बिच्छायो ? पूर्वपश्चिम रेल-वेको नंसाकन गरेर मुआब्जा किन वितरण गर्‍यो भनेर होला। विश्वव्यापी मान्यता अनुसार समुन्द्रमा पनि नेपालको पनि हक हुन्छ भन्ने मान्यता जनमानसमा स्थापित गरायो भनेर होला।’

ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनु पर्ने पनि बताए। देशलाई उद्योग व्यवसायतर्फ लागे मात्रै आत्मनिर्भर अर्थतन्त्र हुने उनको भनाइ छ। ‘देशलाई आधुनिकीकरणतर्फ लाने कुरा उत्पादनमा नवीनता नयाँ नयाँ उत्पादनमा प्रविधिको प्रयोग, नयाँ प्रकारका सुविधा, नयाँ प्रकारका उपभोग नै आधुनिकता हो,’ उनले भने, ‘उत्पादनका क्षेत्रलाई आधुनिक बनाउनु पर्‍यो र परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नु पर्‍यो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्