कास्की। तीनदिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरणऔक्यान) लाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ।
विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीका अनुसार शनिबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ विदेशमन्त्री वाङले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नेछन्।
सोही समयमा पोखरा आयोजनास्थलमा पनि चिनियाँ निर्माण कम्पनीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्नुहुने कार्यक्रम रहेको आयोजनाले जनाएको छ। मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सम्पन्न भएकाले विमानस्थल हस्तान्तरण गर्न लागिएको हो। चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ तीनदिने भ्रमणका लागि शुक्रबार साँझ पौने ५ बजे काठमाडौं आइपुगेका थिए।
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ। विमानस्थलको मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सकिएपछि चिनियाँ निर्माण कम्पनी सिएएमसीइले हस्तान्तरण गर्ने भएको छ।विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल(एटिसी) भवनलगायत विभिन्न १४ भवन, ट्याक्सी वेलगायत मुख्य काम सकिएका छन्।
विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले विमानस्थलका मुख्य काम सबै सकिएको र सामान्य केही काम मात्र बाँकी रहेको बताए । सरकारले यसै वर्षभित्रमा विमानस्थल सञ्चालनमा ल्याउने योजना बनाएको छ।
उनले भन्नुभयो, “रनवे, टर्मिनल भवन, यान्त्रिक उपकरण जडान, लाइटलगायत मुख्य काम सबै सकिएको छ। फेन्सिङ, प्यासेन्जर बडी बिल्ड र नालाको केही सामान्य काम मात्र बाँकी छ। यसका लागि अब धेरै समय लाग्दैन।” निर्माण कम्पनीसँगको सम्झौताअनुसारका आयोजनाका मुख्य काम सकिएपनि विमानस्थल सञ्चालनका लागि पूर्णरुपमा तयार हुन अझै काम बाँकी नै छन्। आयोजनाका अनुसार नेपाली पक्षले गर्नुपर्ने ‘ल्याण्डफिल साइट’ व्यवस्थापन, विमानस्थलको पूर्वपट्टीको रिठेपानी डाँडा कटान र ‘फ्युल स्टेशन’को काम अझै सुरु हुन सकेको छैन। बाँकी कामका लागि कागजी प्रक्रिया अघि बढे पनि स्वीकृत हुन बाँकी छ।
डाँडा कटानका लागि मन्त्रीपरिषद्ले पूरक प्रतिवेदन पेश गर्ने र वनसँग सम्झौता गर्ने गरी दुई पूर्व शर्तसहित यसअघिनै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको थियो। पूरक प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको र स्वीकृतिको चरणमा रहेको अधिकृत फुयाँलले बताए। विमान उडान र अवतरणको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकाओ)का मापदण्डअनुसार सो डाँडा ४० प्रतिशत कटान गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ।
पर्यटकीय सहरका रुपमा स्थापित पोखरालाई हवाई सम्पर्कका माध्यमबाट विश्वका अन्य सहरसँग सिधा सम्पर्क कायम गर्न चार दशकअघिनै विमानस्थल बनाउने योजना अघि सारिएको थियो। लामो समयअघिको योजना विसं २०७४ मा आएर मात्र काम सुरु भएको हो।
सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता रहे पनि कोरोना सङ्क्रमणका कारण विमानस्थलको काम रोकिएकाले गत वर्ष थप एक वर्ष म्याद थपिएको थियो।
निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। यसका लागि सन् २०१४ मे २२ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच व्यापारिक सम्झौता भएको थियो।
त्यसपछि सन् २०१६ मार्च २१ मा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएकामा सोही वर्षको जुन ५ मा सरकार र नागरिक उड्डयन प्राधिकरण(क्यान)बीच सहुलियत ऋण सम्झौता भएको थियो।
चीनको एक्जिम बैंकले सन् २०१७ को मे ३१ मा ऋण स्वीकृत गरेकामा सन् २०१८ फेब्रुअरी २५ मा नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र चिनियाँ एक्जिम बैंकबीच विमानस्थल निर्माणका लागि आर्थिक स्रोतको सुनिश्चिता भएपछि निर्माण कार्य अघि बढाइएको थियो।
इपिसि (इन्जिनियरिङ प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्जनाइजेशन (आइकाओ) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गरिएको हो। यस विमानस्थलमा बोइङ ७५७ र एयरबस २१९ मोडलका ‘न्यारोबडी’ विमान उडान तथा अवतरण गर्न सकिने छ।
साविक छिनेडाँडा हाल पोखरा महानगरपालिका१४ मा विसं २०३२ मा पहिलोपटक विमानस्थलका लागि तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो। त्यसपछि विसं ०७१/०७२ मा थप ५२१ मध्येमा ५१५ रोपनी जमिन तथा ३५ घर टहरा अधिग्रहण गरिएको थियो। पछिल्लो पटक ‘आउटर पेरिफेरी रोड’का लागि भनेर पुनः ५९ रोपनी जमिन तथा ३४ घरटहरा अधिग्रहण गरिएको थियो। रासस



लोकपाटी न्यूज