काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको एमाले नक्कली भएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित प्रेस संगठनको विस्तारित बैठकमा नेता खनालले नेकपा माओवादी केन्द्र र एमालेबीचको एकतासँगै विघटित भइसकेकोले सर्वोच्चको फैसलापछि जन्मिएको एमाले वास्तविक नभएको जिकिर गरे।
उनले केपी ओलीले नेतृत्वको अहिलेको एमाले एउटा गुट मात्र भएको दाबी गरे। तर, उनीहरूले आफूहरू पुरानै एमाले भएका भनेर देशभरि भ्रम छरिरहेको बताए। माओवादी केन्द्र र एमालेको एकीकरणपछि एमाले इतिहास भइसकेकोले भ्रमबाट मुक्त हुने नेता खनालले आग्रह गरे। एकीकृत पार्टी फुटाएर जन्मिएको गुट नै अहिलेको नेकपा एमाले भएको उनको भनाई छ।
‘त्यो गुटले देशभरि भ्रम छरिरहेको छ, एमाले भनेर। त्यो एमाले त नेकपा एकीकरणसँगै विघटन भइसकेको हो। एमाले इतिहास हो’ उनले भने, ‘यो त सर्वोच्च अदालतको उत्प्रेषणको आदेशबाट जन्मिएको गुट हो। हामीले बनाएको नेकपा एमाले होइन। तर त्यसभित्र हामीले तन्त्रमन्त्र गरेका र शिक्षित गरेका थुप्रै साथीहरू त्यहाँभित्र हुनुहुन्छ। उहाँहरू भ्रममुक्त भएर आउनुपर्छ।’
नेता खनालले तत्कालीन दुई कम्युनिष्ट पार्टीबीचको एकता नेपाली कम्युनिष्ट आन्दोलनको असाधारण उपलब्धि भएको पनि बताए। समाजवाद तर्फको दिशामा एउटा अपूर्व अवसर प्राप्त गरेको उक्त एकता दक्षिणपन्थी अवसरवादीका कारण विभाजित हुन पुगेको उनको टिप्पणी छ। नेता खनालले केपी ओली नेतृत्वको सरकारले पनि दलाल पुँजीवादको सेवा मात्र गरेको दाबी गरे। भूमिहीन, कृषकलगायत गरिब जनताका पक्षमा कुनै पनि काम गर्न नसकेको उनको भनाई छ।
अहिले पनि केपी ओलीले दक्षिणपन्थी अवसरवादको पक्षपोषण गरिरहेको उनले आरोप लगाए। ओलीले दक्षिणपन्थीहरुलाई गोलबद्ध गर्ने काम गरिरहेको उनको दाबी छ। समाजवादी यात्रामा दक्षिणपन्थी समूह नै ठूलो चुनौतीको रूपमा खडा हुने उनको भनाई छ। आफूहरूको अहिलेको लडाइ दक्षिण अवसरवादसँग रहेको उल्लेख गर्दै उनले अवसरवादबाट सतर्क हुनु आवश्यक रहेको बताए।



लोकपाटी न्यूज

