मन्त्री पौडेलद्वारा ढोरपाटन-साल्झन्डी सडकको अनुगमन

लोकपाटी न्यूज

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन्। शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी र गादी खोला ढोरपाटन जोड्ने सडकको  अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्। ‘सडकको काम कुनै हालतमा नरोकियोस्,’ मन्त्री पौडेलले भने, ‘प्रभावित स्थानीयलाई मुआब्जा दिए सहमतिमै काम अघि बढानुहोला।’

मन्त्री पौडेलले कुनै समस्या भए समाधान गर्न आफू तयार भएको भन्दै ढोरपाटन साल्झन्डी सडकको काम तीव्र रूपमा अघि बढाउन निर्देशन दिए। यस वर्ष ढोरपाटन साल्झन्डी सडकका लागि भौतिक पूर्वाधार मन्त्रालयले ४४ करोड रुकम विनियोजन गरी श्रेष्ठ गलबा क्यार वान कम्पनीले सडक चौडा बनाउने काम गरिरहेको छ।

यस्तै, गादी खोलादेखि ढोरपाटन जोड्ने सडकको १० किलोमिटर नाली बनाउने काम सकिएर माटो बिच्छाउने काम भइरहेको लामा कन्स्ट्रक्सन प्राविका सञ्चालक सोमनाथ थकाली जानकारी दिएका थिए।

‘हामीले काम तीव्र रूपमा गरिरहेका छौँ,’ सोमनाथ थकालीले भने, ‘असार मसान्तसम्म ५ किलोमिटर सडक पक्की गरिसक्छौँ, असोजसम्म १० किलोमिटर सडकको काम सकेर हस्तान्तरण गछौँ।’ १० किलोमिटर सडक कालोपत्रे गर्न  गण्डकी प्रदेश सरकारले ४० करोड रकम विनियोजन गरेको छ। सोही सडकको जिम्मा लामा कन्स्ट्रक्सन प्रालिले लिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्