काठमाडौं। नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ६ महिनामा आफूहरुको जस्तो पार्टी कसैले बनाउन नसक्ने बताएका छन्। शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी)को काठमाडौं भेलामा अध्यक्ष नेपालले पार्टी दिनदिनै फैलिँदै गएको बताए।
‘६ महिनाभित्र कुनै पनि पार्टीले यत्रो आकार ग्रहण गर्न सकेको छैन। हाम्रो पार्टी दिनप्रतिदिन फैलिँदै गएको छ। हाम्रो पार्टीको विस्तार देखेर बैरीहरु आत्तिएका छन्,’ उनले भने। नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको बताए। उनले चुनावी गठबन्धन हुने र कांग्रेसको निर्णयको प्रतिक्षा गरिरहेको जनाए।
‘केपी ओलीले एमसीसी पारित गराउन प्रचण्डजी र मलाई गठबन्धनबाट हटाउने सर्त राख्दा शेरबहादुरजीले मान्नु भएन, भन्नुभएछ- म धोका दिने मान्छे होइन,’ नेपालले भने, ‘अहिले पनि कांग्रेसका कतिपयले भनेका छन्, गठबन्धन हुँदैन तर शेरबहादुरजीले निर्वाचनसम्म सँगसँगै जानेछौं भनिरहनु भएको छ, अब उहाँको पार्टीले के निर्णय गर्छ, पर्खेर बसेका छौं।’



लोकपाटी न्यूज

