काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। केन्द्रीय समिति बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सभापति देउवा र कोइरालाबिच ‘वान टु वान’ वार्ता भएको हो।
भेटमा कोइरालाले सभापति देउवासँग भ्रातृ संस्थाको नेतृत्व चयन गर्दा सल्लाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए। देउवाले भने शेखर समूहले भ्रातृ संस्थाका समानान्तर समिति बनाउने समाचार बाहिरिएको भन्दै चासो राखेका थिए। जवाफमा कोइरालाले ‘एकलौटी गर्ने हो भने सडकमा जानुपर्ने र समानान्तर समिति बनाउने कुरा साथीहरूले गरेको’ बताएका थिए।
उनले देउवालाई पार्टीभित्रका असन्तुष्टि सम्बोधन गर्न र सबैका कुरा सुन्न सुझाव दिएका थिए। देउवाले भ्रातृ संस्था लगायतका विषयमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने र सबैलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरेको शेखर निकट स्रोतले जानकारी दियो। यसअघि पहिलो भेट फागुन ९ गते बालुवाटारमा भएको थियो।
काँग्रेसले नेविसंघ र तरुण दलको अध्यक्षमा गरेको मनोनयनविरुद्ध कोइराला पक्षधर तरुण-विद्यार्थीहरूले छुट्टै भेला चेतावनी दिएका छन्। उनीहरूले यही चैत १४ गते अनुपम फुड्ल्याण्डमा भेला आयोजना गरेको नेता रञ्जित कर्णले जानकारी दिए। सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णय अनुसार चैत ९ गते नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए।
सो नियुक्ति प्रक्रिया सम्मत नभएको भन्दै इतर समूहले विरोध गर्दै आइरहेको छ। काँग्रेस नेता कोइरालाले केन्द्रीय समिति बैठक अघि सभापति देउवासँग भेट गरेका हुन्। काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार सानेपामा बसेको छ।



लोकपाटी न्यूज

