केन्द्रीय समितिअघि बोहोराटारमा पौडेल पक्षको छुट्टै भेला

ramchandra_poudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकअघि काँग्रेस नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरूको छुट्टै भेला डाकेका छन्। पौडेल निवास बोहोराटारमा बैठक जारी रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

जिल्ला सभापतिहरूको मनसाय बुझेर केन्द्रीय समिति बैठकमा जाने ध्येयले पौडेलले छलफल गर्न लागेका उनीनिकट एक नेताले बताए। ‘आजको केन्द्रीय समिति बैठकले उम्मेदवार छान्न संसदीय समिति गठन गर्न सक्छ। स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय लिन सक्छ। यसमा जिल्ला सभापतिहरूले के सुझाव दिनुहुन्छ भनेर बुझ्न उहाँले भेला राख्नुभएको हो,’ ती नेताले भने।

काँग्रेससँग सत्ता गठबन्धन गरिरहेका दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गर्न चाहेका छन्। काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि तीनै तहको निर्वाचनसम्मै गठबन्धन जोगाउनुपर्ने पक्षमा देखिन्छन्। स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने काँग्रेसको तयारी छ। केन्द्रीय समितिको बैठकअघि पौडेलले आफू निकट नेताहरूसँग कसरी अघि बढ्ने भन्ने धारणा बुझ्न छलफल थालेका हुन्।

काँग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ। सो बैठकमा चुनावमा उम्मेदवारहरूलाई टिकट बाँड्ने समिति गठन, चुनावमा गठबन्धन गर्ने कि नगर्ने लगायतका विषयमा छलफल हुँदैछ। तिनै विषयमा आफ्नो धारणा बनाउन पौडेलले आफू निकटका नेताहरूको बैठक बसालेको उनी निकट एक नेताले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्