तनहुँ। तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि कलाकार शाहविरुद्ध दुबै पक्षबाट बहस गरिएको थियो।जाहेरीवालाका तर्फबाट बुधबार नै बहस गरिएको थियो भने प्रतिवादीका तर्फबाट बिहीबार अदालतमा बहस भएको थियो। प्रतिवादीका तर्फबाट १२ जना कानून व्यवसायीले बहस गरेका थिए। जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले पललाई बलात्कार मुद्धामा पूर्पक्षका लागि थुनामा पठाउने अरू आधारपनि आफ्नो आदेशमा उल्लेख गरेको छ।
पहिलो आधार हो, नाबालिग सुतेको कोठामा मध्यरातमा गएको पलशाहको स्वीकृति। प्रहरी, सरकारी वकिल र अदालतमा बयान दिँदा पलले बलात्कार आरोप अस्विकार गरेका थिए। तर उनले गत बैशाख १४ गते मध्यरात बियर खाएर बाँकी रहेको बियर लिएर पीडित नाबालिगको कोठामा गएको स्विकार गरेका थिए। अदालतले थुनछेक आदेशमा राती १२ बजेतिर पीडित सुतेको कोठामा जानुको औचित्य पलले पुष्टी गर्न नसकेको बताएको छ।
‘राती १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई निज प्रतिवादीले स्विकार गरेको पाइयो,’ आदेशमा भनिएको छ, ‘एक्लै सुतेकी बालिकाको कोठामा राती १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै आचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन, यसरी राती पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्विकारोक्तीको सोही राती निजले पीडितलाई जबरजस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो।’
दोस्रो आधार, ३२ बर्षीय वयष्क व्यक्ति पललाई पीडित नाबालिग भएको कुरा पूर्ण जानकारी थियो। तेस्रो आधार हो ‘ब्वायफ्रेण्ड गर्लफ्रेण्ड सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्ड माात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ’ भन्ने पलको अडियो रेकर्ड। परिवारसँगको छलफलमा पलले त्यसो भनेको रेकर्ड सरकारी वकिलले मुद्दासँगै बुझाएको थियो। उक्त अडियो रेकर्डमा भएको स्वर आफ्नै भएको भन्दै पलले स्वीकार गरेका थिए। पीडितपक्ष र छलफलका साक्षीहरुले बयानमा समेत उक्त अडियो पलको भएको उल्लेख गरिसकेका छन्।
पलले बलात्कार गरेका कारण पीडितले आफूलाई अप्ठ्यारो परेको भनेर गरेको गुनासो र त्यसपछि न्यायिक कारबाहीमा जान सुझाएका गायक दुर्गेश थापा लगायतको वयानलाई पनि अदालतले तत्काल प्राप्त प्रमाण मानेको छ। पललाई पूर्पक्षका लागि थुनामा पठाउन यी आधारबाहेक पीडितले दिएको किटानी जाहेरी, घटना विवरण, पीडितको शारीरिक जाँचलाई पनि आधार मानेको छ।
यसै मुद्दामा शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएसँगै जोशी हिजो साँझनै धरौटी बुझाएर रिहा भएका छन्।










लोकपाटी न्यूज

