एक दर्जन बढी एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

लोकपाटी न्यूज

धुलिखेल। नेकपा एमालेका प्रभावशाली जिल्ला नेताहरू नेपाली कांग्रेसमा प्रवेश भएका छन्। नेपाली कांग्रेस काभ्रोपलाञ्चोकद्धारा धुलिखेलमा आयोजित एक विशेष कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरणले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुहुने जिल्ला नेता तथा कार्यकर्ताहरूलाई पार्टीको सदस्यता वितरण गरेका थिए।

नेपाली कांग्रेसका प्रवक्ता डा. महतले देशको विकास र जनताको सुख समृद्धिको लागि काम गर्ने पार्टी नै नेपाली कांग्रेस भएकोले यसै पार्टीको झन्डामुनि रहेर जनताको सेवा गर्न उनीहरूले लिएको निर्णयको सही भएको बताए। उनले नेपाली कांग्रेसको आदर्श,सिद्धान्त,नीति तथा कार्यक्रमबाट आकर्षित भएर पार्टीमा प्रवेश गर्नुभएका राजनीतिकर्मीलाई स्वागत गर्दै शुभकामना पनि दिएका थिए।

कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईँले दिनुभएको जानकारी अनुसार नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाईँसहित पूर्वगाबिस अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष विष्णुबहादुर बस्नेत, निर्वाचित वडा सदस्य तथा धुलिखेल एमाले नगर कार्यपालिका सदस्य उपेन्द्र हुमागाईँ, नेकपा एमालेका नेता माधवमणि हुमागाईँ, जिल्ला सदस्य मुरारी हुमागाईँ, एमाले नगरपालिका सदस्य पुरुषोत्तम बस्नेत, नगर एमाले नगर सदस्य यादव गौतम ,धनञ्जय हुमागाईँ, अर्जुनबहादुर भुजेल, रामकृष्ण भुजेल लगायत सयौँको सङ्ख्यामा नेकपा एमालेलगायत विभिन्न पार्टी परित्याग गरेका राजनीतिककर्मीहरु नेपाली कङ्ग्रेसमा प्रवेश गरेका छन्।

हुमागाईँ तत्कालीन जिल्ला विकास समितिका सदस्य तथा नेकपा एमालेका पूर्व क्षेत्रीय अध्यक्ष रहिसकेका छन्। उनी नेकपा एमालेका प्रदेश कमिटी सदस्य पनि थिए। तीन दशक लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुमागाईँ भूमि आयोग काभ्रेका जिल्ला संयोजक समेत रहेका थिए।

स्थानीय निर्वाचनको मुखमा एमालेका प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेकोले धुलिखेलसहित समग्र काभ्रे जिल्लामा नेपाली कांग्रेसलाई फाइदा हुन पुगेको छ। केही दिन अघि मात्रै धुलिखेल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नीराजन जङ्गमले पार्टी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गरेका छन्।

यसले धुलिखेल नगरपालिकाको आउँदो चुनावमा नेपाली कांग्रेसलाई बलियो बनाउन मद्दत पुराएको छ। नेकपा एमालेको जिल्ला अध्यक्ष समेत रहनुभएका धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु श्रेष्ठको जलाधार कमजोर बनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्