एमाले नै मूलधारको पार्टी हो : केपी ओली

KP_Oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा बहुमत ल्याउने लागि भूमिका खेल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन्। बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा ओलीले स्थानीय तह निर्वाचनमा महत्वपूर्ण ठाउँमा र समग्रमा पार्टीलाई विजयी बनाउनका लागि लाग्न निर्देशन दिएका हुन्।

आगामी निर्वाचनहरू महत्वपूर्ण भएको र त्यसमा पनि स्थानीय तहको निर्वाचन झनै महत्वको रहेको ओलीको भनाइ थियो। उनले केन्द्रमा मात्रै बहुमत ल्याएर काम गर्न नसकिने भएकाले स्थानीय तहमा अधिकतम जित अत्यावश्यक भएको बताए। उनले भने, ‘आगामी निर्वाचन महत्वपूर्ण छ। केन्द्रमा एमालेको सरकार बनेपछि जनताको घरदैलोसम्म विकास पुर्‍याउने स्थानीय सरकार नै हो। स्थानीय तहमा जित हासिल गर्न सकेनौं भने केन्द्रमा बहुमत ल्याएपछि सहज हुँदैन। त्यसकारण हामीले यसमा बहुमत प्राप्त गर्नुपर्नेछ।’

एमाले मुलुकको ठूलो पार्टी भएको र भ्रम फैलाउनका लागि कम्युनिस्ट पार्टीहरूमा मात्रै ठूलो भनिने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। उनले लोकतान्त्रिक आन्दोलनको मूलधारसमेत नेकपा एमाले नै रहेको दाबी गरे। ‘१९९१ सालमा स्थापित प्रजापरिषद पनि हामीसँगै समाहित भएको छ। अनेक हिसाबले नेकपा एमाले सबैभन्दा पुरानो र मूलधारको पार्टी हो,’ उनले भने, ‘इतिहासको विरासत हामीसँग छ। आजको चुनौतिको सामाना गर्दै हामीले नै देशलाई समृद्ध तुल्याउने अभिभारा लिएका छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्