सुरु भयो एमाले केन्द्रीय समिति बैठक

uml_commit
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की बैंक्वेटमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ।

केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षले आ-आफ्ना प्रदेशको संगठनात्मक कामको अवस्था, जिल्लाको शक्ति सन्तुलनको स्थिति र निर्वाचनको तयारी तथा सम्भावनाबारे जानकारी गराउने छन्। केन्द्रीय कार्यालयको तर्फबाट महासचिव शंखर पोखरेलले विभाग, जनसंगठन, आयोग र कार्यालयसहित समग्र पार्टी कामको रिपोर्टिङ प्रस्तुत गर्ने एमालेले जनाएको छ।

सत्तापक्षको अनिच्छा रहँदारहँदै एमालेको दबाबले स्थानीय तहको निर्वाचनको मिति तय गरेर प्रक्रिया अघि बढेको, पार्टीको निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको र ठाँउ ठाउँमा पार्टी प्रवेशको लहरै चलेकाले समग्र विषयवस्तुलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा संसदभित्र एमालेले विरोध जारी रहँदारहँदै एमसीसी पारित गरिएको, प्रधानन्यायाधीशविरुद्धको महाभियोग छलफलमा जाँदै गरेको, सरकार अकर्मण्य बनेको, अर्थतन्त्र लथालिङ्ग हुँदै भएकाले सरकारको समग्र कामको समीक्षासहित राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ।

आजबाट सुरु भएको बैठक भोलिसम्म चल्नेछ। यसअघि सोमबार पोलिटब्युरो र त्यसअघि सचिवालय बैठक बसेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्