काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले अहिलेको निर्वाचन एकदमै खर्चिलो भएको बताएका छन्। बुधवार नेपालगन्जमा आयोजित अकोरबको कार्यक्रममा झाले निर्वाचन आयोगले प्रक्रिया परिवर्तन गर्नुपर्ने बताए।
‘निर्वाचन एकदमै खर्चिलो भयो। यसलाई मध्यनजर गरेर निर्वाचन आयोगले या त चुनावी प्याटर्न चेन्ज गर्नुपर्यो या त चुनावी खर्च तोकेको भन्दा बढी खर्च गर्नेलाई कारबाही गर्न सक्नुपर्यो,’ उनले भने। झाले पार्टीले स्थानीय निर्वाचनलक्षित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले पार्टीसँग चुनावी तालमेलका लागि तीन विकल्प भएको बताए।
यद्यपि स्थानीय तहमा चुनावी गठबन्धनको आवश्यकता नभएको उनले बताए। ‘पहिलो विकल्प भनेको लोसपा चुनावमा एक्लै भाग लिने हो। दोस्रो एमालेसँग तालमेल र तेस्रो सत्ता गठबन्धनले हाम्रा राजनीतिक माग-मुद्दा पूरा गरे उसैसँग गठबन्धन गर्ने हो,’ उनले भने, ‘चुनावी गठबन्धनबारे एमालेसँग हाम्रो औपचारिक/अनौपचारिक कुनै संवाद आजसम्म भएको छैन। तर, सरकारसँग चाहिँ हाम्रो दुई-तीन राउन्ड छलफल भएको छ।’



लोकपाटी न्यूज

