स्वार्थमा आधारित एकता टिक्दैन, कमरेड ओलीलाई बुझाउनुछ : भुसाल

Ghanshyam_Bhusal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता घनश्याम भुसालले चुनावी परिणामलाई वामपन्थीहरूको पक्षमा पार्न वाम एकताको विकल्प नरहेको बताएका छन्। मंगलबार पत्रकारहरूसँगको अन्तर्क्रियामा नेता भुसालले वैशाख ३० मा हुने स्थानीय तहको चुनावको परिणाम वाम शक्तिको पक्षमा पार्न वाम एकता गर्नै पर्ने बताएका हुन्।

‘स्थानीय चुनाव आइसक्यो। एमाले ठूलो पार्टी हो उसले आफ्नो साइज अनुसारको जितिहाल्छ। माओवादी र एकीकृत समाजवादीले पनि आफ्नो साइजअनुसार जितिहाल्छन्। तर, यो चुनावको परिणामलाई वामहरूको पक्षमा पार्न वाम एकताको विकल्प छैन,’ उनले भने। भुसालले तीन कम्युनिष्ट पार्टीबीच वैचारिक र सैद्धान्तिक विमति नरहेकाले छुट्टाछुट्टै पार्टी आवश्यक नरहेको बताए।

बरु तीन दल बनेर जाँदा एकले अर्कोलाई खुइल्याएर नेपालमा कम्युनिस्ट आन्दोलन नै धरापमा पर्ने उनले बताए। ‘माधव-प्रचण्डको आँखामा ओलीजी खतरनाक तत्व हुने, ओलीले माधव र प्रचण्ड खतरनाक भनिदिने र बाहिरबाट दुवै खतरनाक देखिने। सामान्य कहाँ पुग्दा सबै खतरनाक देखिने भए। त्यसैले यी सबै कुरा भन्दा माथि उठ्नुपर्छ,’ भुसाल भने।

पार्टीका नेताहरूबीच विगतमा भए गरेका क्रियाकलापको जिम्मेवारी लिने काम भएमा वामपन्थी एकताबारे सहज हुने भुसालको भनाइ थियो। अहिले एकले अर्कालाई आरोप लगाइरहँदा समस्या रहेको पनि उनले बताए। ‘माधव नेपाल र प्रचण्डको आँखाबाट हेर्दा ओली कम्युनिस्ट आन्दोलनको खतरनाक तत्व हो भन्ने। ओलीले माधव नेपाल र प्रचण्ड खतरनाक तत्व हुन् भन्ने। बाहिर रहेकाले यी दुवै खतरनाक तत्व हुन् भन्ने, किनकि कम्युनिस्ट कम्युनिस्ट भिडिरहेका छन्,’ उनले भने।

भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा बुझाउन बाँकी रहेको बताए। ‘अनुभवले के बताउँछ भने नेताहरूका स्वार्थमा आधारित एकता टिक्दैन,’ उनले भने। पार्टी बलियो भएमा नेताहरूका स्वार्थ पूर्ति हुने तर स्वार्थका आधारमा एकता गर्न नहुने उनको भनाइ थियो।

‘नेताका स्वार्थमा आधारित भएर एकता भयो भने हालत यस्तो हुन्छ भन्ने दुनियाँले, हामीले बुझिसकेका छौं। त्यो हाम्रो पार्टीभित्र पनि कमरेड ओलीलाई केही बुझाउन बाँकी छ, नत्र भने सबैले बुझेका छन्। स्थायी समिति, पोलिटब्युरो सबैले बुझेका छन्। तल कार्यकर्ताले बुझेका छन्,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्