काठमाडौं। नेकपा एमालेका नेता घनश्याम भुसालले वाम एकताको नेतृत्व एमालेले नै गर्नुपर्ने बताएका छन्। काठमाडौंमा मंगलबार सञ्चारकर्मीलाई बोलाएर नेता भुसालले वामपन्थी शक्तिलाई बलियो बनाउन एमालेले नै नेतृत्व गर्नुपर्ने र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनु पर्ने बताएका हुन्।
तीन पार्टी सैद्धान्तिक रूपमा फरक नभएकाले चुनावी तालमेलसँगै एकता गरेर जानुपर्ने उनको तर्क छ। ‘मैले एमाले र माओवादी एकता हुनुभन्दा पहिले सैद्धान्तिक रूपमा एमाले माओवादीमा कुनै फरक छैन। सैद्धान्तिक रूपमा अलग रहन पर्दैन भन्दा मेरो विरोध भयो त्यसको केही समयपछि एकता भयो,’ भुसालले भने, ‘एमाले, माओवादी र समाजवादीबिच चुनावी तालमेल गरेर एकता गर्न पर्याप्त समय छ। हिजोका के कारण समस्या भयो। कसरी एकतालाई झन् राम्रो बनाउन सकिन्छ भने सिक्नका लागि उदाहरण हुने भयो। हिजो भन्दा आज एकता झन् सजिलो भयो।’
उनले कम्युनिष्ट पार्टीको यथोचित नेतृत्व गर्नु एमालेको दायित्व भएको पनि बताए। भुसालले वाम एकताको अर्को विकल्प नभएको बताए।‘कम्युनिष्ट पार्टी निर्माणमा भूमिका खेलेका सबै नेता तथा कार्यकर्ता वाम एकताको पक्षमा छन्। ती नेता कार्यकर्ताले भविष्य र चुनौती पनि देखेका छन्। उनीहरू पनि एकताको पक्षमा छन्,’ उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्छ। एकता भनेको वामपन्थलाई बलियो बनाउने हो। वामपन्थीको एकता नेपालको स्थिरतासँग जोडिएको छ। त्यसैले वाम एकता गर्नुबाहेक अर्को विकल्प छैन।’
भुसालले कम्युनिष्ट पार्टी विभाजनमा आफ्नो हैसियत देख्नेहरू वाम एकताको विपक्षमा भएको पनि बताए। उनले विभिन्न शक्तिले पनि वाम एकता हुन नदिएको बताए। ‘०७४ मा पनि वाम एकताको कुरा गर्दा मेरो विरोध भएको थियो। यो विभाजन र दूरी कृत्रिम छ,’ उनले भने, ‘केही मान्छेहरू वाम एकताको विरोधमा रहन सक्छन्। त्यो भनेको कम्युनिष्ट पार्टी विभाजनमा आफ्नो हैसियत देख्नेहरू यसको विरोधमा छन्।’



लोकपाटी न्यूज

