काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल वाम एकता हुन नसक्ने बताएका छन्। पोलिटव्यूरो बैठकमा घनश्याम भुसाल र रघुजी पन्तले एमालेले वाम एकताको अगुवाइ गर्नुपर्ने प्रस्ताव गरेका थिए। जवाफमा अध्यक्ष ओलीले यस पटक वाम गठबन्धन जस्तो नक्कली सम्भव नरहेको बताए।
एक पोलिटव्यूरो सदस्यले दिएको जानकारी अनुसार ओलीले बैठकमा भनेका थिए, ‘चुकुल तोडेर, ढोका र झ्यालको सिसा फोडेर गद्दारी गर्दै काँग्रेसलाई सत्ता बुझाउन जानेहरूलाई गठबन्धन वा एकताका नाममा चुकुल खोलिन्न। त्यो जस्तो नक्कली कुरा केही हुन्न। माधव नेपालसँग गएका र प्रचण्डसँग रहेका तलका नेता कार्यकर्तालाई भने पार्टीमा ल्याएर उचित भूमिका र जिम्मेवारी दिनुपर्छ। नेताले गद्दारी गरे पनि कार्यकर्तालाई ढोका खुला राख्ने हो।’
तर चुनावी एकता भने हुनसक्ने उनले बताए। ओलीले भने, ‘देशमा वाम नै छैन अब के को एकता ? ‘ उनले कसैसँग पनि चुनाव अघि एकता हुन नसक्ने बताए। ‘अहिले कसैसँग एकता हुँदैन। तर, चुनावी एकता भने हुन्छ,’ उनले भने। बैठकमा ओलीले एमालेविरुद्ध षड्यन्त्र गर्ने, अदालत र निर्वाचन आयोगमा सेटिङ गर्ने, सभामुख प्रयोग गरेर पार्टी फुटाउनेहरूसँग गठबन्धन नहुने बताए।



लोकपाटी न्यूज

