काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्टहरूले फैलाएको भ्रम चिर्नेगरि प्रचारप्रसारमा लाग्ने पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। कम्युनिष्टहरूले फैलाएको भ्रम चिर्नेगरि मतदाताका घरघर पुगेर वास्तविकता बुझाउन पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिए।
एक महिने चुनावी अभियान अन्तर्गत आइतबार काँग्रेस काठमाडौंको बुद्धनगरमा आयोजित पार्टीको कार्यक्रममा उनले काँग्रेसको नेतृत्वमा आजसम्म प्राप्त उपलब्धिबारे जनतालाई बुझाएर पार्टीका पक्षमा मत माग्नुपर्नेमा जोड दिए। जनतामाझ पुगेर सही विचार र सूचना पुर्याउन काँग्रेसका नेता-कार्यकर्ताले अल्छी गर्न नहुने उनले बताए।
‘अरू पार्टीहरू आफूले नगरेका कामको पनि गर्यौं भनेर भ्रम छर्छन्। हामी आफूले गरेका राम्रा कामको प्रचार नै गर्न सक्दैनौं,’ सिंहले भने, ‘अब हामी सबै प्रचारप्रसारमा लाग्न जरुरी छ।’ उनले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा टिकटको आसा राख्नु स्वाभाविक भए पनि त्यसका लागि पार्टीको वैधानिक प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिए।
निर्वाचनको मिति आउन धेरै समय नभएकाले घरघर, टोल टोलमा गएर काँग्रेसका उम्मेदवार र काँग्रेसलाई विजय गराउन सबैले एकजुट भएर लाग्नु पर्ने नेता सिंहले बताए।



लोकपाटी न्यूज

